मुम्बई, फागुन १०। राज कुन्द्रा पोर्नोग्राफी प्रकरणमा कारबाही गर्दै मुम्बई प्रहरीले ४ जना अभियुक्तलाई पक्राउ गरेको छ । मुद्दा दर्ता भएदेखि नै उनीहरु सबै फरार थिए ।
राज कुन्द्रा पोर्नोग्राफी प्रकरणमा ठूलो कारबाही गर्दै मुम्बई प्रहरीको अपराध शाखाले ४ जना अभियुक्तलाई पक्राउ गरेको छ । पोर्नोग्राफी मामलामा जेल पर्नुभएका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा जमानतमा छुट्नुभएको थियो। भारतीय सञ्चार माध्यमका अनुसार मुम्बई उच्च अदालतले राजलाई ५० हजारको निजी मुचुल्का बनाएर जमानत दिएको थियो। अश्लिल भिडियो बनाएर ओटीटी प्लेटफर्म मार्फत प्रसारण गरेको आरोपमा उहाँलाई प्रहरीले समातेको थियो। राज जेलमा परेको दुई महिनापछि छुटनुभएको थियो ।
यी अभियुक्तमध्ये एक जना कास्टिङ डाइरेक्टर रहेको बताइएको छ भने ३ जना उहाँका सहयोगी रहेको बताइएको छ । जानकारीका अनुसार अभियुक्तमध्ये ३ जनामाथि वेब सिरिजको सुटिङका क्रममा अभिनेत्रीलाई बलात्कार गरेको आरोप छ । मुद्दा दर्ता भएदेखि नै चार अभियुक्त फरार रहेको र उनीहरुमा प्रहरी संलग्न रहेको बताइएको छ ।
यसैबीच, घटनाका आरोपी कास्टिङ डाइरेक्टर नरेश रामावतार पाल वर्सोवा क्षेत्रमा आउन लागेको जानकारी प्रहरीले पाएको थियो। सूचना पाएलगत्तै प्रहरी टोलीले जाल राखेर उनलाई पक्राउ गरेको हो । प्रहरीसँगको सोधपुछका क्रममा नरेशले बाँकी अभियुक्तहरुको बारेमा जानकारी दिए । यसपछि दुई अभियुक्त सलीम सय्यद र अब्दुललाई गोरेगाउँबाट र अमन बर्नावरलाई बोरिवलीबाट पक्राउ गरिएको थियो।
जानकारीका अनुसार कास्टिङ डाइरेक्टर नरेश पालले अभिनेत्रीहरूलाई जबरजस्ती मढ क्षेत्रमा लगेर त्यहाँ पोर्न फिल्म खिच्न बाध्य पारेका थिए । जबरजस्ती पोर्न फिल्म खिचेपछि उनले दुई हजार रुपैयाँ मात्रै दिने गर्थे । बाँकी ३ अभियुक्तले उनलाई यो काममा सघाउँथे । मुद्दा दर्ता भएपछि सबै आरोपी गोवा र शिमलामा लुकेर बसेका थिए ।