Kath khabar
अब अमेरिकाको महिला फुटबल टोलीले पुरुष सरह तलब पाउने

काठमाडौं, फागुन ११। युएस फुटबल र महिला टिमबीच समान तलब र सेवासुविधाको विषयमा सम्झौता भएको छ।

अमेरिकी महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरू, मेगन रापिनो र एलेक्स मोर्गन सहित, पुरुष र महिला फुटबल खेलाडीहरू बीचको असमान पारिश्रमिक बारेको मुद्दाको समाधान गर्न अमेरिकी फुटबल महासंघसँग सम्झौता भएको हो। अब अमेरिकाको राष्ट्रिय महिला फुटबल टिमले पुरुष खेलाडी सरह समान तलब पाउने भएका छन् ।

युएस फुटबल फेडेरेसनले महिला खेलाडीलाई पुरुष सरहको तलब र सेवासुविधा प्रदान गर्ने निर्णय गरेको हो । मंगलबार सहमतिको घोषणा गरिएको हो। सम्झौता अन्तर्गत यूएस महिला फुटबलले विश्वकप लगायत भविष्यमा हुने मैत्रीपूर्ण र टूर्नामेंटहरूमा पुरुष र महिला खेलाडीहरूलाई समान तलब उपलब्ध गराउन सहमत भएको हो ।

सन् २०१९ मा २८ महिला फुटबल खेलाडीले पुरुष खेलाडी सरह तलब र सुविधाको माग गर्दै अमेरिकी फुटबल संघ विरुद्ध मुद्दा दायर गरेका थिए तर त्यस मुद्दा अदालतले खारेज गरेको थियो । उनीहरुले समान पारिश्रमिक ऐन अन्तर्गत ६ करोड ६० लाख डलर बराबरको क्षतिपूर्ति पनि मागेका थिए ।

समान तलबबारे सम्झौता भएपछि कप्तान एलेक्स मोर्गनले यो अविश्वसनीय दिन भएको बताउनुभएको छ । 'यो हामीले विगतका गल्तीहरूलाई सच्याउने मात्र नभई अर्को पुस्तालाई हामीले देखेको सपना स्थापित गर्न सुनिश्चित गर्ने ठूलो जीत हो', रापिनोले भन्नुभएको छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update