काठमाडौं, फागुन १२। कलाकार पल शाहले आफूमाथि लागेको बलत्कारको आरोपको खण्डन गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै आरोपको खण्डन गर्नुभएको हो। उहाँले उक्त स्टाटसमार्फत आफूमाथि षडयन्त्र गर्ने व्यक्तिहरुको नाम र प्रमाण सहित केहि अडियो क्लिपसमेत सार्वजनिक गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, 'मलाई गालीगलौज गर्दै हुनुहुन्छ होला तर पनि म तपाईँहरू सामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । अडियो क्लिपमा गायिकाद्वारा म माथी सुन्न नसकिने खालको आरोप लगाईएको छ ति सबै नियोजित र षडयन्त्रपूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ । जुन सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंल्याइदिनुहोला । यदि म म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।'
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिगमाथि जबरजस्ती करणीको उजुरी परेको छ । उक्त अडियोमा जसमा गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँको आवाज भनिएको छ । अडियो अनुसार पल र समीक्षाको समझदारी हुने अवस्थामा रहेको बेला दुर्गेश थाापा सहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको देखिन्छ ।