Kath khabar
विश्वकप छनोट : ओमानविरुद्ध नेपालको अर्को शानदार जित



काठमाडौं, फागुन १२ । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले पराजजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ दशमलव २ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । कुशलले अविजित रहँदै ५५ रन बनाउनुभयो । त्यसैगरी आरिफ शेख २१ रनमा अविजित रहे भने आसिफ शेख १३ रनमा आउट भए । ओमानका जिसन मक्सुदले १ विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो । ओमानका लागि जिसन मक्सुदले सर्वाधिक २१ रन बनाउनुभयो । यस्तै अयान खानले १६ तथा नसिम खुसीले १५ रनको योगदान गर्नुभयो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट हात पार्नुभयो। सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, अविनाश बोहराले एक-एक विकेट लिनुभयो ।

यसअघि मङ्गलबार भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।
 

 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update