वासिङटन, फागुन १३। रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ। यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको हो । उहाँले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।
रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गर्नुभएको हो । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ ।
रुसले केही महिनाको प्रयासपछि बिहीबार युक्रेनमा हमला गरेको थियो । सैन्य हमलामा परी युक्रेनको राजधानी लगायतका सहरमा केही नागरिकको ज्यान पनि गएको छ । सो हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य सहरमा प्रदर्शनहरू नै भएको थिए । ती प्रदर्शनमा परेर अहिलेसम्म १ हजार ७०० जनालाई पक्राउ गरिएको छ ।
रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो । रुसले गरेको सो आक्रमणका विरुद्धमा रुसी राजधानीमा नै युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा आएका थिए ।
रुसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन् । ती प्रदर्शनहरुमा रुसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ ।
नेटोले युक्रेनमा सेना नपठाउने
उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ । सो कुराको जानकारी नेटोका महासचिवले बिहीबार दिनुभएको हो । उहाँले दिनुभएको जानकारीअनुसार नेटोले आफ्ना सेनाहरु स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भूभागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको हो ।
बिहीबार बसेको नेटोको आपतकालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिनुभएको छ। उहाँले यस विषयमा छलफल भएको र अहिले नै नेटोले युक्रेनमा रहनेगरी सेना नपठाउने विषयमा निर्णय भएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
साथै सो बैठकले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रुसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ । सो बैठकपछि भनिएको छ-हामीले रुसलाई युक्रेनमाथिको सैन्य हमला तत्कालै रोक्न भनेका छौँ र यसरी सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट यसको समाधानका लागि तयार हुन हामीले भनेका छौँ ।
रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ। युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हलाई हमला गरिरहेका बताइएको छ ।
(रासस/सिन्ह्वा)