Kath khabar
शिवरात्रीको लागि चिटिक्कै पारिएको पशुपतिनाथ क्षेत्र

काठमाडौं, फागुन १५। विश्वकै पवित्र तीर्थस्थलहरू मध्ये अग्रणी क्षेत्र आराध्यदेव भगवान पशुपतिनाथ क्षेत्र यतिखेर चिटिक्क पारिएको छ। आगामी मंगलबार फाल्गुन १७ गते मनाइने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी करिब करिब सकिएको छ । सोही विशेष दिनको लागि देश विदेशबाट आउने साधुसन्तहरूको उपस्थिति २ हप्ता देखि नै जारी छ। तह अनुसारका साधुसन्त, बाबा, अघोरी बाबा, नागा बाबा आदिको क्रियाकलापले सो क्षेत्रमा थप रौनक देख्न सकिन्छ।  

पशुपति क्षेत्र विकास कोष अन्तर्गत 'दर्शन तथा पुजा व्यवस्थापन समिति' का सदस्य गोकर्ण प्रसाद पौडेलका अनुसार विभिन्न तहका  साधुसन्तहरूको व्यवस्थापन, सो दिनमा आउनुहुने भक्तजनहरूको व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी र सरसफाइ व्यवस्थापन, सहित सम्पूर्ण कार्यहरुको रोडम्याप बनिसकेको छ। स्थानीय क्लबहरू, सामाजिक संघ संस्था, नेपाल स्काउटका साथै राज्यका सम्पूर्ण सुरक्षा निकायहरुसँगको आपसी सहकार्यमा सो दिनको लागि सो क्षेत्रमा सवारी व्यवस्थापन, सुरक्षा, अवान्छित क्रियाकलाप नियन्त्रण सम्बन्धी सम्पूर्ण कार्यविधिहरू लागू भैसकेको जानकारी पनि पौडेलले दिनु भयो।  

गत हप्ता मात्रै माननीय संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेको चासोमा शुरु गरिएको विभिन्न भगवान शिवसँग सम्बन्धित चित्रकलाले सो क्षेत्रमा थप रौनक र आकर्षण थपेको पाइन्छ। साथै विभिन्न दाताहरूले स्व-स्फूर्त रुपमा देश विदेशबाट आयात गरिएको फुलको सजावटले पशुपतिनाथ क्षेत्र पुग्ने जो कोही पनि मन्त्र मुग्ध बनेको पाइन्छ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update