Kath khabar
यसरी हुँदैछ महाशिवरात्रीमा विशेष ट्राफिक व्यवस्थापन

काठमाडौं, फागुन १६ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।

‘महाशिवरात्रि पर्व विशेष ट्राफिक व्यवस्थापन योजना’ बमोजिमको सम्पूर्ण तयारी पुरा गरी सो अवधिभर खटिने प्रहरी अधिकृत तथा अन्य खटिने कमाण्डरहरुलाई ट्राफिक प्रहरीको भूमिका, ट्राफिक व्यवस्थापन गर्दा भक्तजन तथा दर्शनार्थीसँग गर्ने व्यवहार र पार्किङ क्षेत्रमा गर्नुपर्ने सहजिकरणका बारेमा ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले ब्रिफिङ गर्नुका साथै आवश्यक निर्देशन समेत दिनुभएको छ ।

पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरि सहज आवतजावतको प्रबन्ध मिलाएको छ । धेरै टाढा टाढाबाट भक्तजनहरू आउने हुनाले उहाँहरूको सुविधाका लागि निर्बाध आवतजावतको ब्यवस्था मिलाइएको छ भने गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने स्थानहरु समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अन्य नियमित दिनझैं चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरूको भिडभाड अत्याधिक भई सवारी संचालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई बैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी जोशीले बताउनु भयो ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात संचालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सवारी संचालनको व्यवस्था मिलाइने समेत एसएसपी जोशीले जानकारी दिनुभयो ।

बिभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एव भक्तजनहरूका सवारी साधनहरूलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, तिलगंगाको पार्किङ्ग र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालय भित्रकोष तथा पासबाहक सवारी साधन, गौशाला प्रहरी कार्यालय भित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारी साधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई संचालनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरीघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरूलाई सो खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइने समेत बताउनुभयो ।

महाशिवरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यबस्थित एव प्रभावकारी बनाउनको लागी करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुने समेत जानकारी दिनुभयो । ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चाबहिल, गौशाला, तिलगंगा हुदै अन्यत्र जाने सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update