Kath khabar
ओलम्पिक मेडलिस्टलाई दुई करोड पुरस्कार : मन्त्री अथक

काठमाडौं, फागुन १८। संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरूको हौसला बढाउने उद्देश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताउनु भएको छ । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ  (एनएनआइपिए) द्धारा आयोजित स्पोर्ट्स अवार्ड कार्यक्रममा बोल्दै मन्त्री अथकले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीहरूको पुरस्कार सुनिश्चितताका लागि मन्त्रालयले पुरस्कार सम्बन्धी कार्यविधि तयार गर्न लागेको बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका मन्त्री अथकले ओलम्पिकमा स्वर्ण पदक ल्याउने नेपाली खेलाडीहरूलाई २ करोड नगद राशीले सम्मानित गर्ने उद्घोष समेत गर्नुभयो । “मन्त्रालयले ओलम्पिक मेडलिस्ट खेलाडीलाई दुई करोड नगद राशीले पुरस्कृत गर्ने गरी कार्यविधि बगाईरहेको छ”, मन्त्री अथकले भन्नुभयो, “उक्त राशि बढाउन थप प्रयास गर्नेछु ।” नेपाली खेलाडीहरूले पछिल्लो समय विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएपनि ओलम्पिकमा भने कुनै प्रतिफल ल्याउन नसकेको प्रति ईगित गर्दै मन्त्री अथकले भन्नुभयो, “तपाईहरुले खेलका विभिन्न पहाड चढ्नुभएको छ, अब खेल क्षेत्रको सगरमाथा (ओलम्पिक) चढ्ने उद्देश्य राख्नुहोस् ।”

सरकारले खेलकुदलाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने गरेको अनुभुति भएको बताउँदै मन्त्री अथकले उक्त दृष्टिकोण बदल्न समेत खेलाडी तथा खेल संघहरु लाग्नुपर्ने बताउनुभयो। मंगलबार ललितपुरको गोदावरी नगरपालिकास्थित बज्र बाराही मन्दिर परिसरमा भएको १६ औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा विभिन्न २७ विधागत खेलका १५ पुरुष र १२ महिला उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भएका छन । जसमध्ये राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update