काठमाडौं, फागुन १८। हिमाली तथा पहाडी भेगमा उत्पादित फापर अन्नबाली नेपालमा अब हराउँदै गएको छ। व्यवसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको हो ।
नेपालको तराई अर्थात् ७० मिटरदेखि उच्च पहाड ४२०० मिटरसम्म फापर खेती गर्न सकिन्छ। यो प्रायः चिसो ठाउँमा फल्ने फल हो। फापरमा प्रोटिन, खनिज पदार्थ, जिन, कपर तथा शरीरलाई स्वस्थ राख्ने आवश्यक तत्त्वहरू पाइन्छ। मासु नखाने शाकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हो।
फापरमा औषधीको गुण पाइने हुँदा यसको बजारमा माग दिन प्रतिदिन बढ्दो पाइएको छ। फापरलाई रक्त कोसीका मजबुत गर्ने र रगत बहनेको औषधीको रुपमा प्रयोग गरिन्छ। यो छोटो अवधि, कम लगानी र कम हेरचाहमा पनि उत्पादन गर्न सकिन्छ। यसको दानाको खोस्टाले तकिया अथवा सिरानी पनि बनाउन सकिन्छ। दाना मुन्टा तथा पात सबै तरकारीको रुपमा प्रयोग हुने हुँदा बाह्रै महिना उत्पादन गर्न सकिएमा यसको उपयोग बढ्न गई स्वस्थ रहन योगदान पुर्याउछ। फापरमा कोलेस्ट्रोल नपाउने हुँदा यो स्वास्थ्यको हिसाबले पनि एक उत्कृष्ट वनस्पति मानिन्छ।
फापरको अर्को एउटा विशेषता भनेको गहुँ वा जौको पिठोमा पाइने ग्लुटेन भनिने प्रोटिन यसमा हुँदैन । यो ग्लुटेनयुक्त खानेकुरा पनि हो। फापरले शरीरमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्ने मात्र हैन रगतको कोलेस्ट्रोल घटाउन पनि सहयोग हुने वैज्ञानिक रिपोर्टले देखाएको छ । फापरलाई मधुमेह, उच्च-रक्तचाप तथा कब्जियत हुनेहरुले विशेष रुचिका साथ खाने गर्दछन् । मानिसको स्मरणशक्ति बढाउन फापर खानु लाभदायक मानिन्छ। नेपालमा तीते र मीठो गरी दुई थरीको फापरको उत्पादन हुन्छ ।
जापानिज अनुसन्धानकर्ताहरूले मुसामा गरेको अनुसन्धानमा प्रोटिनयुक्त फापरको पिठोमा रगतमा कोलेस्ट्रोल घटाउने र पित्तको पत्थरी हुनबाट पनि बचाउन सक्ने क्षमता भएको पाईएको छ । फापरमा धेरै गुणहरू पाइन्छ साथै यसको सेवनबाट मोटोपन पनि कम हुने हुँदा मानिसहरूले अहिले यसको बढि माग गरेको पाइएको छ। एउटा वयस्क मानिसले स्वस्थ जीवन जिउन दिनहुँ ३५ देखि ३८ ग्राम फाइबरको सेवन गर्नुपर्दछ। एक कप फाफरमा ४/५ ग्राम फाइबर पाइन्छ। यसरी फापरको सेवनले शरीरमा प्रशस्त मात्रामा फाइबर प्राप्त गर्न सकिन्छ ।
शहरी क्षेत्रमा यसको प्रयोग विभिन्न परिकारहरू बनाएर खाने गरेको पाइएको छ। किसानले उत्पादन प्रति खासै चासो नदेखाएको हुँदा बर्सेनि उत्पादनमा कमी हुँदै आएको छ। फापरबाली उत्पादनमा सरकारको चासो नहुँदा निकै नै महत्वपुर्ण बाली लोप हुँदै गएकोमा बुढापाका तथा विज्ञहरु पनि चिन्तित देखिन्छन्।
पहिला गरिबको खाना भनेर चिनिने फापर हाल आएर धनिमानिले औषधिको रुपमा प्रयोग गरेको पाइएको छ। फापरको महत्व बुझेर अझै पनि फापरको खेतितिर लाग्ने हो भने यसबाट कृषकहरुले मनग्य कमाई गर्न सक्ने देखिन्छ। उब्जाउ कम हुने हुँदा हाल बजारमा फापरको मूल्य पनि बढी र बजारमा कम मात्रामा देखिन्छ।