लण्डन, फागुन १८। नेवारी समुदायको लोकप्रिय सांस्कृतिक पर्व बिस्केटजात्रा यस वर्ष पहिलोपटक बेलायतमा मनाउने तयारी गुथिले शुरु गरेको छ । बेलायतमा नेवारी भाषा, संस्कृति र परम्पराको प्रवर्द्धनमा सक्रिय पासा पुचः गुथि यूकेले अब बिस्केटजात्रा पनि आयोजना गर्ने भएको छ ।
आइतबार बसेको गुथिको बैठकले आउदो अप्रिल महिनाको १० तारिख प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा एक विशेष कार्यक्रम गरी बिस्केटजात्रा मनाउने निर्णय गरेको अध्यक्षले जानकारी दिनुभएको छ। परम्परागत शैलीमा जात्रामा तान्नको लागि रथ नै तयार गर्ने गुथिको योजना रहेको उहाँले बताउनुभयो।
जात्राको संयोजन पासा पुचः गुथिको साउथ इष्ट लन्डन शाखाले गर्नेछ । शाखाका अध्यक्ष माधवलाल श्रेष्ठलाई कार्यक्रमको मुख्य संयोजकको जिम्मेवारी दिइएको छ । जात्रामा बेलायतभरबाट ५ सय जनाको सहभागिता अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी हुन १५ पाउण्डको टिकट तोकिएको छ । त्यसअवसरमा सहभागीहरुको लागि मौलिक नेवारी परिकारहरु पनि व्यवस्था गरिनेछ ।
गुथिका अध्यक्षले यस वर्ष शुरु गर्न लागिएको बिस्केटजात्रालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने योजना रहेको बताउनुभयो। बेलायतमा नेवारी संस्कृति र परम्पराको प्रवर्द्धन तथा यतै हुर्किंदै गरेको नयाँ पुस्तासम्म हस्तान्तरण नै जात्राको प्रमुख लक्ष्य रहने उहाँको भनाइ छ ।
पासा पुचः गुथि यूकेले यसअघि पनि बेलायतमा म्हः पूजा, योमरी पुन्ही, नेवा भ्वयः (नेवा भोज) लगायतका सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।