Kath khabar
विद्युत प्राधिकरणले ५ रुपैयाँमा  किनेर १३ रुपैयाँमा बेचेको उत्पादकहरूको आरोप

काठमाडौं, फागुन १९ । विद्युत प्राधिकरणको नाफा मोहका कारण  सर्वसाधारणले बिजुलीमा महँगो मूल्य तिर्नुपरेको  निजी क्षेत्रका उर्जा उत्पादकहरूले बताएका छन् । आफूहरूले प्राधिकरणलाई ५ रुपैयाँमा बिजुली बेचेपनि सर्वसाधारणले भने १३ रुपैयाँ तिर्नुपरेको उनीहरूको भनाई छ ।

सबै खर्च कटाएर पनि प्राधिकरणले प्रतियुनिट २ रुपैयाँ नाफा कमाएको र यस्तो नाफा घटाउन सके ग्राहकले सर्वसुलभ मूल्यमा पाउने र यसले बिजुलीको खपत समेत बढाउने उनीहरूको तर्क छ । बिजुलीको खपत बढाउने उद्देश्यका साथ चैत १८ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको हिमालयन हाइड्रो एक्स्पोको बारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै उर्जा उत्पादकहरूले बिजुली खपत ठूलो मात्रामा नबढ्नुमा प्राधिकरण नै दोषी रहेको देखाएका हुन् ।

बर्षातका समयमा रातमा ५ सय मेगावाट सम्म बिजुली खेर जाने स्थिति आयो । उत्पादित बिजुली वर्षातका समयमा भारतले नकिने के गर्ने होला भन्ने अहिले पनि प्राधिकरणलाई चिन्ता छ । तर,  बिजुलीको भाउ सस्तो सँगै अनुदानमा ठूलो परिमाणमा इन्डक्सन चुलो बाड्न नसक्दा अहिले पनि उपभोक्ताले खाना पकाउन एलपीमा ग्यासकै प्रयोग गरिरहेका छन् । साथै प्राधिकरणले चार्जिङ स्टेसन समेत समयमै नबनाएका कारण विद्युतीय गाडीको प्रयोग नबढेको  निजी क्षेत्रका उर्जा उत्पादकहरूको तर्क छ।

हिमालयन हाइड्रो एक्स्पोको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इपानका उपाध्यक्ष आशिष गर्गले प्राधिकरणले बिजुली सस्तो बनाएर खपत बढाउने रणनीति बनाउन नसकेको बताएका हुन् । स्वदेशमा बिजुली खपत बढ्न नसकेपछि यही  विषयलाई लिएर स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इपानले चैत १८ देखि २० गतेसम्म काठमाडौंमा हिमालयन हाइड्रो एक्सपो गर्ने भएको छ । जसमा  नेपालको बिजुलीको ठूलो बजार मानिएको भारतको उर्जा मन्त्रालयसँगै निजी क्षेत्रका ब्यक्तिहरूको समेत उपस्थिति रहेनछ ।

यसमा स्वदेशमा बिजुली खपत  के कसरी बढाउने भन्ने विषयमा छलफल हुनेछ । साथै भारतीय पक्षसँग उर्जा बजारका विषयमा पनि छलफल गरिनेछ। यसअघिका दुईवटा हिमालयन हाइड्रो एक्स्पो स्वदेशमा बिजुलीको उत्पादन कसरी बढाउने भन्ने विषयमा केन्द्रित भएको थियो भने यसपालि आन्तरिक रुपमा खपत कसरी बढाउने र बाह्य बजारमा बिजुलीको बिक्री कसरी गर्ने भन्नेमा केन्द्रित हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update