काठमाडौं, फागुन १९ । अमेरिका शहर क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा योमरी मयजुले सांस्कृतिक प्रस्तुति गरेको छ । यति रेस्टुरेन्टमा भएको सो कार्यक्रममा कार्यक्रममा नेपालको पहिचान खाद्य परिकार योमरीको इतिहास, योमरी बनाउने तरिका, योमरीको सांस्कृतिक एवं सामाजिक महत्व साथै नेपाली खानपानमा पञ्चतत्त्वका महत्वको बारेमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठले जानकारी दिनुभयो ।
आफ्नो कला र संस्कृति जोगाउने उद्देश्यले अमेरिकाको विभिन्न शहरहरूमा योमरी मयजुको सांस्कृतिक प्रस्तुतिहरू भइरहेको बताउनु हुँदै नेपालको आफ्नै संस्कृती, भेषभुषा, खाना मूल्य मान्यता रहिआएको तथा यसको जगेर्ना तथा प्रचार गर्न यस किसिमको कार्यक्रमको आवश्यकता रहेको यति रेस्टुरेन्टका संचालक नारायण सोम्नामेले बताउनु भयो । बिनिशा श्रेष्ठले ’संस्कृति बचाउन हामी सब चाहान्छौं तर धेरै जसो हामी पश्चिमी देखा सिकी मैँ रमाउँछौं भन्नुहुँदै संस्कृति पनि बचोस्, केही रचनात्मक काम पनि होस् र रोजगारीको अवसर पनि सिर्जना होस् भनेर यो प्याकेज कार्यक्रमको सुरुआत गरेको बताउनुभयो ।
सांस्कृतिक, धार्मिक, सांस्कृतिक मान्यताका साथै मौसमअनुसारको पौष्टिक आहारको रूपले महत्त्वपूर्ण मानिने यःमरी सिंगो नेवार समुदायको सभ्यता र संस्कृतिको परिकार हो । नेवार भाषामा योमरीको अर्थ मनपर्ने रोटी हो भने यसले समग्र नेवार समुदायको संस्कृतिलाई झल्काउने गर्छ ।
योमरी लाई काठमाडौं उपत्यकाको खाद्य पदार्थका रूपमा सीमित गरे पनि विस्तारै यसको महत्वलाई व्यापकता दिने उद्देश्यले यो कार्यक्रम अभियानकै रूपमा अघि बढेको हो । विभिन्न संस्कार तथा उत्सवमा योमरीको माला लगाउने र पुष्पवृष्टिको सट्टा योमरी वृष्टि गराउने पनि गरिन्छ । यही महत्व उजागर गर्दै प्रवर्द्धन गर्न देश विदेशमा योमरी मयजुको यो कार्यक्रम आयोजना भएको हो ।
नेपालीहरूका साथै अमेरिकीहरूको बाक्लो उपस्थिति रहेको सान्टा रोसाको सो कार्यक्रममा मौलिक नेपाली सङ्गीतको प्रस्तुती रहनुका साथै मुख्य आकर्षणकै रूपमा नेपाली शैलीमा जन्मोत्सव मनाइने प्रक्रियाको प्रदर्शन एवं नेपाली मौलिक भोज (नेवाः भ्वय) को प्रबन्ध पनि यति रेस्टुरेन्टले गरेको हो ।