Kath Khabar
जसको चित्रकलाले देवीदेवता नै प्रकट भएर साक्षात्कार गरिरहेको भान हुन्छ

काठमाडौं, फागुन २२। नेपाली परम्परागत पौभा चित्रकलाका जगतमा अलौकिक प्रतिभा भएको चित्रकारको रुपमा उदय चरण श्रेष्ठको नाम अग्रपंक्तिमा आउने गर्छ।

बिशेषत: देवीदेवताको चित्र बनाउन माहिर श्रेष्ठले हालसम्म हजारभन्दा बढि चित्रहरु बनाइसक्नुभएको छ भने स्वदेश तथा विदेशमा सयौँ चित्रकला प्रदर्शनीमा आफ्नो उत्कृष्ट चित्रहरु पस्किएर दर्शकलाई मन्त्रमुग्ध बनाउन सफल भईसक्नुभएको  छ । देश तथा विदेशमा समेत बिभिन्न पुरस्कार र सम्मान पाइसक्नु भएको श्रेष्ठ निकै सरल व्यवहारको व्यक्ति हुनुहुन्छ, प्रतिभावान हुँदाहुँदै पनि रत्तिभर आफ्नो प्रतिभाको घमण्ड उहाँमा नरहेको उहाँलाई चिन्नेहरु बताउनुहुन्छ भने उहाँ खासै प्रचारमा समेत आउन नरुचाउने व्यक्ति पनि हुनुहुन्छ ।

उहाँको चित्र हेर्दा कसैलाई पनि चित्र हेरेको जस्तो भान नै हुँदैन, बरु चित्र हेर्दै गर्दा देवीदेवता नै प्रकट भएर साक्षात्कार गरिरहेको भान दर्शकलाई पर्न जान्छ, यति राम्रो चित्र पनि बन्नसक्छ र भनेर मनमा प्रश्न पनि उठ्न सक्छ । परम्परागत चित्र बनाउनु भनेको आफ्नो स्वइच्छा र बजारको मागलाई भन्दा पनि शास्त्र सम्मत र तन्त्रलाई आधार बनाएर  बनाउनु पर्ने हुँदा हेर्दा अति सामान्य जस्तो देखिने जस्तै आभूषण, मुद्रा, आयुध, आसन, वाहन र रंगहरुलाई अति नै गम्भीरता पूर्वक ध्यान दिएर उतार्नुपर्ने उहाँ बताउनुहुन्छ ।

चित्रको माध्यमवाट नै हिन्दू र बौद्द धर्मको देवीदेवताहरुलाई स्वदेश तथा विदेशमा समेत परिचय दिन सफल श्रेष्ठले आफुलाई मात्रै नभएर नेपाललाई समेत विश्व सामु चिनाउँदै आएको छ । कहिलेकाहिं उहाँले बनाउने देवीको चित्रहरुमा अस्लिलता मिसियो भनेर आरोप पनि लाग्ने गर्छन् तर उहाँ त्यसको खण्डन यसरी गर्नुहुन्छ  "त्यो मेरो आफ्नो शैली नभै बिभिन्न मूर्तिकला, मूर्ति विज्ञान र वैदिक र तान्त्रिक शास्त्रलाई आधार मानेर, खोज अनुसन्धान गरेर मात्रै निष्कर्षमा पुगेर त्यसको भावलाई उतारेको हुँ" । 

क्यानभासमा आफ्नो औंला र रंगलाई खेलाउने मात्रै हैन, परम्परागत चित्र बनाउँदा लगाव, समर्पण र भक्तिभाव समेत हुनुपर्ने मान्यता राख्ने श्रेष्ठको यसै कारण हरेक चित्रहरु जिवन्त रहने गर्छन्। उहाँलाई स्वदेशी चित्र पारखीहरुले मात्रै हैन, बिदेशी चित्र पारखी र उहाँको शुभचिन्तकहरुले व्यवसायीक रुपमा पनि उहाँको कलाको कदर गर्दै आफ्नो घर, होटल, बैंक, किताबको बाहिरी पृष्ठ, एल्बम कभरहरुमा समेत उहाँको चित्रहरुलाई स्थान दिने गर्छन् ।

आफ्नो कलाको माध्यम वाट हाम्रो धर्म, संस्कृतिलाई प्रोत्साहन गर्दै निरन्तर आफ्नो कलाको यात्रामा अघि बढि रहनु भएको कलाकार उदय चरण श्रेष्ठले अझै योगदान दिंदै उहाँ जस्तै नयाँ पुस्ताका कलाकारहरु उत्पादन गर्न सकोस्, उहाँलाई सफलताको शुभकामना  ।

स्रोत- नेवा : म्हसीका

 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update