Kath khabar
हेराल्ड कलेज काठमाडौंले शुरु गर्यो आइएमबिए

काठमाडौं, फागुन २३। बेलायतस्थित उल्भर ह्याम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त हेराल्ड कलेज काठमाडौंले इनटरनेशनल एमबीए (आइएमबिए) कोर्ष शुरु गरेको छ।

सो कलेजले पहिलो ब्याचको अभिभुखिकरण कार्यक्रम सम्पन्न गरेको हो। पहिलो ब्याचमा १ सय २६ जना विद्यार्थी अध्ययन गर्नेछन् । दुई वर्षे यो कोर्ष पूर्ण रुपमा प्रयोगात्मक र व्यावहारिक सिकाइमा आधारित हुनेछ । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीले विभिन्न प्रकारका अन्तरक्रिया छलफल र प्रयोगात्मक अभ्याससँग विभिन्न संघ/संस्था गएर कामको अनुभव साटासाट गर्न पाउने छन् ।

उल्भर ह्याम्टन विश्वविद्यालयले हेराल्ड कलेज काठमाडौंमा नेपालमा सो कोर्षको पढाई शुरु गर्न पाएकोमा खुसी व्यक्त गरेको छ। विश्वविद्यालयका अधिकारीले भने-‘नेपाली विद्यार्थीका लागि यो विषय नेपालमै बसेर अन्तराष्ट्रिय स्तरको अध्ययन गर्ने अवसर हो । आईएनजी ग्रुपले लामो समयदेखि बेलायतको विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न कोर्सहरू नेपालमा प्रदान गरिरहेको छ। यसले बेलायत र नेपालबीचको शैक्षिक र प्राज्ञिक सम्बन्धमा थप मजबुत बनाउन सहयोग पुयाउने विश्वास गर्दछ ।

‘अभिमुखीकरण कार्यक्रममा हेराल्ड कलेज काठमाण्डौले प्रदान गर्ने शैक्षिक गुणस्तरीयता र व्यावसायिक विकासबारे प्रकाश पारिएको थियो । यस कार्यक्रमले प्रयोगात्मक पाठ्यक्रममा रहेर अन्तरक्रिया र गतिविधि केन्द्रित शैक्षिक पद्धति अवलम्बन गर्नेछ’- आइएनजि ग्रुपका प्रबन्ध निर्देशक रवि फुयाँलले भन्नुभयो। प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले कलेजले सुरुवात गरेको यो विषय सायद नेपालमा नौलो र पूर्ण रुपमा प्रयोगात्मक रहेको बताउनुभयो । सन् १८३५ मा बेलायतमा स्थापना भएको उल्भर ह्याम्टन विश्वविद्यालयले नेपालको गुणस्तरीय शिक्षाको अपेक्षा सहित सन् २०१६ मा  हेराल्ड कलेज काठमाडौँलाई सम्बन्धन दिएको थियो ।

कलेजमा अभिमुखीकरणसँगै आइएनजी ग्रुपका कलेज र संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइयो) भेटघाट कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विराटनगर इन्टरनेशनल कलेजका सिइयो डा. ऋषिकेश वाग्ले, आइएनजी स्किल एकेडेमीका सिइयो निखिल श्रेष्ठ, इन्फरमेटिक्स कलेज पोखराका सिइयो अभिनभ दाहाल, आइएनजी फुडका सिइयो सगुन शर्मा, हेराल्ड कलेज काठमाडौंका सिइयो प्रकाश श्रेष्ठ, भैरब टेक्नोलोजीका सिइओ विजय लिम्बु सेनिहाङग आ-आफ्नो कलेज र संस्थाको बारेमा बारेमा अनुभव साटासाट गरेका थिए ।


 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update