Kath khabar
पुनः एक रुपैयाँ दरको सिक्का चलनचल्तीमा आउने


काठमाडौं, फागुन २३ । नेपाल राष्ट्र बैंकले आगामी बुुधबारबाट बजारमा पुन एक रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकका अनुसार साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको सिक्का चलनचल्तीमा ल्याउन लागिएको हो ।

राष्ट्र बैंकका अनुसार चलनचल्तीमा आउने उक्त सिक्काको बिशेषताहरुमा सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको, चौसठ्ठी थोप्लाहरूको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेश सहितको नेपालको नक्सा रहेको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि. वन र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ । नेपालको नक्साको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको छ ।

सिक्काको पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको, आठ थोप्ला सहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।      


 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update