Kath Khabar
आफ्नो उपचारमा खटिने डाक्टर तथा नर्सलाई पूर्वराजाले दिए धन्यवाद

काठमाडौं, जेठ १ । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आभार व्यक्त गर्नुभएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई राजा ज्ञानेन्द्र वैशाख २९ गते राति ८ बजे डिस्चार्ज हुनुभएको थियो ।

त्यसको दुई दिनपछि अर्थात वैशाख ३१ गते पूर्व महारानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह डिस्चार्ज हुनुभएको थियो । पूर्व राजा शाहले एक ट्वीट गर्दै कोरोनाको वैश्विक महामारीका कारण आफूहरु नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेशा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभचिन्तकप्रति आभार प्रकट गर्नुभएको छ ।

यसैगरी, पूर्व राजपरिवारका सदस्यहरु स्वस्थ भई डिस्चार्ज भइसकेपछि नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले पनि एक ट्वीट गर्दै खुशी व्यक्त गर्नुभएको छ । उहाँले पूर्व राजा तथा राजपरिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घजीवनको समेत कामना गर्नुभएको छ ।

पूर्व राजा शाह, पूर्व रानी कोमल शाह र अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भई नर्भिकमा भर्ना हुनुभएको थियो । पूर्व राजा र अधिराजकुमाबरीको सामान्य अवस्थामै उपचारलाई जारी राखिएको थियो भने पूर्वरानीको अवस्था भने निकै जटिल बनेको थियो । उहाँलाई हाइफ्लो अक्सिजनको सपोर्टसहित केही दिन आइसियूमा राख्नु परेको थियो ।

कोरोना संक्रमणका लागि प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । लगातकार उपचार र नर्भिकको स्तरीय स्वास्थ्य सेवाका कारण उहाँको स्वास्थ्यमा चमात्कारिक सुधार भएको थियो ।

जसको फलस्वरुप आइसियूमा राखेको केही दिनमै पूर्वरानीको अवस्था सुधार भएपछि वार्डमा सारिएको थियो । वार्डमा सारिएको केही दिनमै उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update