Kath Khabar
उपत्यकामै ‘जब सेन्टर’ खोलेर ठगी


काठमाडौं, फागुन २४। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा केही व्यक्तिले ‘जब सेन्टर’ खोलेर ठगी गरेका छन् । उनीहरूले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीका सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट सम्पर्कमा आएका व्यक्तिमाथि ठगी गरेको पाइएको हो ।

घरमै बसी जागिर मिल्छ भनी झुटा प्रचारप्रसार गर्ने गरेका पनि फेला परेको प्रहरीले उक्त सूचनामार्फत सम्पर्कमा आएका व्यक्तिलाई त्यसका सञ्चालकले जागिरका लागि फारम भर्ने बहाना बनाई रु ३०० देखि रु ५०० सम्म शुुल्क लिने गरेका पाइएको छ । उनीहरूले जब ग्यारेन्टीका लागि भनी लोभ देखाएर रु एक हजारदेखि छ हजारसम्म असुल्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा अनुसन्धानमा खटिएको महाशाखाको टोलीले जागिर लगाइदिने बहानामा ठगी गरेको पाइएपछि केही जब सेन्टरमा सञ्चालकलाई कानुनी दायरामा ल्याएको छ। महाशाखाबाट परिचालित टोलीले काठमाडौँको कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजुलगायत स्थानमा कार्यालय नै खोलेर शुल्कसमेत लिई ठगी गरेको पाइएपछि नौ जनालाई पक्राउ पनि गरेको छ ।

सम्पर्कमा आई शुल्क तिरेर फारम भर्ने व्यक्तिलाई विज्ञापनमा उल्लेखित शर्तबमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइहाले पनि तोकिएबमोजिम तलब र सुविधा नदिइने तथा दिए पनि केही समयमा नै उक्त जागिर छोड्न बाध्य बनाउने गरिएको प्रहरीले जनाएको छ । उक्त समूहले कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी सम्पर्कमै रहेको अर्को जब सेन्टरमा पठाई त्यहाँसमेत फारम भरी शुल्क असुल्ने गरेको पनि महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update