बेलायत, फागुन २५। अमेरिका, बेलायतसहित पश्चिमा देशले रुसी तेल र ग्यास आयातमा प्रतिबन्ध लगाएका छन्। युक्रेनमाथिको आक्रमणपछि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाइए पनि यो ठूलो निर्णय हो। युरोपेली युनियनले पनि रुसी ग्यास तथा इन्धनमा रहको निर्भरता अन्त्य गरिनुपर्ने जनाएको छ।
रुसले तेल प्रतिबन्ध अघि बढेमा युरोपेली देशहरूलाई ग्यास आपूर्ति बन्द गर्न सक्ने चेतावनी दिएपछि यो कदम लिएको हो। युक्रेनले प्रतिबन्ध विस्तार गर्न आग्रह गरेपछि अमेरिकाले रुसी तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको हो। बेलायतले यस वर्षको अन्त्यसम्ममा रुसी तेललाई बहिष्कार गर्ने छ र ईयूले भने आफ्नो आयात दुई तिहाइले घटाउँदैछ।
रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसी तेललाई अस्वीकार गर्दा ‘विश्व बजारका लागि विनाशकारी नतिजा’ निम्त्याउने बताउनुभएको छ । तर अमेरिका, बेलायत र ईयूले चुनौती स्वरुप अपनाएका छन्। रसिया अमेरिका र साउदी अरेबियापछि विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो। रुसले हरेक दिन करिब ५० लाख ब्यारेल कच्चा तेल निर्यात गर्छ, जसमध्ये आधाभन्दा बढी युरोपमा जान्छ। अमेरिका कम निर्भर छ, यसको आयातित तेलको लगभग ३% रूसबाट आउँछ।