
काठमाडौं, फागुन २५। नेप्सेको उकालो यात्रामा ब्रेक लागेको छ । नेप्से आज बुधबार ३० दशमलव २९ अंकले घटेर २५ सय १४ दशमलव ६५ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ४६ अंकले घटेर चार सय ८७ दशमलव सात अंकमा झरेको छ । दुई सय २९ वटा कम्पनीहरूको ३९ हजार सात सय ८८ पटकको कारोबारमा आज ४९ लाख ५९ हजार नौ सय १९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ३५ करोड २३ लाख १७ हजार एक सय ४२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन्। जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका सबै समुहहरूको सूचक घटेर नेप्से रातै भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज माउन्टेन इनर्जी नेपाल लिमिटेड, इमर्जिङ नेपाल हाइड्रो पावर लिमिटेड, रुरु जलविद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने विशाल बजार कम्पनी लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य भने घटेका छन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, शिवम् सिमेन्ट लिमिटेड, पाँचथर पावर कम्पनी, सामलिङ पावर लिमिटेड आदि परेका छन् ।