भक्तपुर, फागुन २६। भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा श्रीधर अर्यालले बच्चाको आइसियु सञ्चालनमा नै नआएको दाबी गर्नुभएको छ ।
आज सम्प्रेषण भएको एक समाचारबारे प्रतिक्रिया दिँदै उहाँले माघ २६ गते पदमुक्त भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले हतारिएर रिबन काटेर गरेको उद्घाटनका आधारमा बच्चाको आइसियु खुल्यो भन्न नमिल्ने दाबी गर्नुभएको हो । गत फागुन १ गते भक्तपुर अस्पताल स्थापना भएको ११९ वर्षपछि पहिलो पटक बच्चाको आइसियु अध्यक्ष मिलन सुवालले उद्घाटन गर्नुभएको थियो । उक्त आइसियु हालसम्म पनि सञ्चालनमा नल्याइएको समाचार आज सम्प्रेषण भएको थियो ।
यसै विषयमा आज अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आइसियुलाई चाहिने अक्सिजन प्लान्ट पनि जडान नगरी लथालिङ्ग पारिएको छ, एनआइसियुका लागि १० वटा श्यया कोठामा छाडिएको छ, बालरोग विशेषज्ञसँग सोध्दा त्यस ठाउँमा सात श्यया मात्रै राख्न मिल्छ भनिएको छ, रेक्ट्रोफिटिङ गर्न तयारी गरेको भवनमा एनआइसियु सञ्चालनार्थ उद्घाटन गरिएको रहेछ, रिबन काटेका भरमा एनआइसियु सुरु भयो भन्न मिल्दैन ।” डा अर्यालले अबको १० दिनपछि मात्रै बच्चाको आइसियु सञ्चालनमा ल्याउन सकिने बताउनुभयो ।
(रासस)