काठमाडौं, फागुन २७। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा नयाँबस्ती युथ क्लबले दोस्रो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा आज भएको खेलमा नयाँबस्तीले ब्वाइज युनियन क्लबलाई ३-२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
नयाँबस्तीको जितमा सुमन योङ्ग्य (Yungya), रोशन आङ्देम्बे र सोम थापाले एक-एक गोल गर्नुभयो। यता ब्वाइज युनियनका लागि भने विनोद राई र दिवस मास्केले एक-एक गोल फर्काउनुभयो । खेलको १७ औैँ मिनेटमा सुमनले गोल गर्दै नयाँ बस्तीलाई पहिलो अग्रता दिलाउनुभयो।
खेलको ३९ औँ मिनेटमा ब्वाइज युनियनका विनोदले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याउनुभएको थियो । खेलको ५० औँ मिनेटमा दिवसले गोल गरेपछि ब्वाइज युनियनले २-१ को अग्रता बनाएको थियो तर त्यो २-१ गोलको अग्रता लामो समयसम्म भने टिक्न सकेन ।
खेलको ६९ औँ मिनेटमा नयाँबस्तीका खेलाडी रोशनले एक गोल थपेपछि खेल २-२ गोलको बराबरीमा पुगेको थियो । त्यसपछि खेलको ८२ औँ मिनेटमा सोमले गोल गरेपछि नयाँ बस्तीले ३-२ गोलको जित हासिल गर्यो । यस जितसँगै चार खेलबाट नयाँबस्तीले छ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित ब्वाइज युनियनको चार खेलमा तीन अङ्क रहेको छ ।