Kath khabar
तिमीलाई त्याग्न सक्छु तर बाँड्न सक्दिन.....

‍‍‍‍‍काठमाडौं, फागुन २८। यदि भविष्यमा कहिल्यै समयको पछाडि जान मिल्ने भएछ भने म जानेछु त्यो दिनमा फर्केर, जुन दिन तिम्रो म्यासेज मोबाइलमा आएको थियो अनि त्यसको रिप्लाई मेरा यी औँलाहरुले लेखेको थियो। म मेटाउने थिए त्यो पहिलो म्यासेज। अनि ठिक गर्ने थिए यी सबै कुराहरु । सायद हामी अन्जान नै भएको भए ठिक हुन्थ्यो । तिम्रो र मेरो भेट हुँदा कति खुसी थिए म तर आज लाग्दैछ हाम्रो भेट नभएकै भए ठिक हुन्थ्यो।

कुनै कुरा आफूले यदि सुरु नगरेको भए केही हुन्थेन, त्यो दिन यदि त्यो म्यासेजको जवाफ नदिएको भए यो सब केही हुन्थेन। म तिमीलाई सहि या गलतको तराजुमा जोख्न चाहन्न बस् यति भन्न चाहन्छु कोहिभित्र प्रेम जगाएर उसलाई छाड्नुपनि उसको हत्या गर्नु सरह नै हो। तिमी मेरो हत्यारा हौ । जिन्दगीमा एउटै गुनासो रहनेछ यदि यो हात समाएर हिँड्नु नै थिएन भने थाम्यौ किन?

मलाई खुब दुःख लाग्यो म तिम्रो रोजाई बन्न सकिन भनेर तर कसैले भनेको थियो दुईटा बिरुवामध्ये एउटाको ठाउँ सार्नुपर्यो भने सँधै कलिलोलाई रोजिन्छ मैले बुझ्नुपर्थ्यो.... मैले बुझ्नुपर्थ्यो।

उ ....तिम्रो नयाँ प्रेमी खुब राम्रो मान्छे हो । उ राम्रो साथी हो, उ राम्रो प्रेमी पनि हो । तिमीले भन्दा धेरै उसलाई मैले चिनेको छु। मलाई थाहा छ उसले तिमीलाई औधी माया गर्छ... मैले भन्दा पनि धेरै ...त्यो मैले उसको आँखामा देखेको छु।

अबबाट धेरै झगडा नगर्नु, गरिहालेपनी सम्हाल्नु। तिमीले उसलाई रोजेर ठिक गर्यौ म ढुक्क छु तिमीलाई उसले कहिल्यै मेरो याद आउन दिनेछैन। तिमीपनी ढुक्क हुनु, अबबाट रातभर कौसीको चिसोमा बसेर मसँग बकवास कुरा गर्नुपर्ने छैन, मलाई भेट्न आउन घरको मान्छेसँग झुट बोल्नुपर्ने छैन। कति रिस उठाउँछौ तिमी मलाई भन्थ्यौ सँधै जिन्दगीबाट एउटा रिस उठाउने मान्छे कम भयो भनी सम्झिनु।

तिम्रो नयाँ प्रेमी र तिम्रो बिचमा आएर भिलेन बनूँ आफ्नो हक खोँजु यो सब मबाट हुँदैन। मेरो माया स्वार्थी हुन सक्दैन म त तिमीलाई औधी मन पराउँछु, माया गर्छु । म तिमीलाई त्याग्न सक्छु तर बाँड्न सक्दिन । त्यसैले आफ्नो कदम पछाडि हटाउँदैछु। मेरो इच्छा त सँधै तिमी खुसी रहनु भन्ने नै थियो के फरक पर्छ र म खुसी राखु या कोहि अरुले राखोस् ।

तिमीले दुईटा डुङ्गामा खुट्टा हाल्यौ, एउटा डुङ्गा उ अनि अर्को म। दुईटा डुङ्गामा खुट्टा हाल्दा खुट्टा हाल्ने मान्छे डुब्छ सन्तुलन बनाउन नसकेर। सँधै मान्छे नै डुब्छ कहिल्यै डुङ्गा डुब्दैन किनकी आजभन्दा अगाडि कहिल्यै डुङ्गाले मान्छेलाई प्रेम गरेको थिएन।

यदि डुङ्गाले मान्छेलाई प्रेम गर्थ्यो त त्यो मान्छेलाई कहिल्यै डुब्न दिँदैन थियो होला। म त तिमीलाई प्रेम गर्छु अथाह प्रेम । म पनि त तिम्रो दुई डुङ्गामध्येको एउटा डुङ्गा हुँ जसमाथी तिमीले आफ्नो एउटा खुट्टा हालेकी थियौं र केही महिनादेखी हामी एउटै नदिमा तैरिरहेको छौँ, म माथी एउटा खुट्टा हालेर तिमी र मैले सङ्गै खोलाका छाल सङ्ग खेलेका थियौं, खोलाका माछा हेरेर रमाएका थियौँ। मैले तिमीलाई अर्को किनारमा लैजान खोजे तर मलाई थाहा थिएन तिम्रो अर्को खुट्टा अर्को एउटा डुङ्गामाथी छ। यदि मैले बल गरे भने तिम्रो टाङ्ग च्यातिनेछ, तिमी खोलामा डुब्नेछौ।

त्यसैले आज म आफ्नो छातिमा एउटा ठूलो प्वाल पार्दैछु, आज रातभरमा त्यो प्वालबाट मभित्र पानी भरिएर म डुब्नेछु, त्यति नै बेला सुटुक्क तिमीले म माथीको आफ्नो खुट्टा झिकेर अर्को डुङ्गामा लैजानु। अहिले म डुब्दैछु, तर मैले डुब्दै गर्दा आफुलाई सास फेर्न गार्हो हुन्छ भनेर सोचिन, मैले आफ्नो अप्ठ्यारोको बारेमा सोचिन मैले तिम्रो सजिलोको बारेमा सोचे ।

अब तिमिले पुरै आफुलाई अर्को डुङ्गामा राखेर आफुलाई सजिलो बनाउनु। आज इतिहासमा पहिलो पटक दुइटा डुङ्गामा खुट्टा राख्दा खुट्टा राख्ने मान्छे डुब्नेछैन, डुब्नेछ त त्यो खुट्टा थाम्ने डुङ्गा।

मलाई थाहा छैन भोलि हामीबीच के कुरा हुनेछ, तर मलाई थाहा छ भोलीबाट हामीबिच केही कुरा हुनेछैन। मलाई थाहा छैन भोलि हाम्रो भेट कसरी हुनेछ तर मलाई थाहा छ भोलीबाट हाम्रो भेट हुने नै छैन।

मसँग पहिलोपटक बोल्ने निर्णय तिमीले गर्यौ, तिमीसँग अब नबोल्ने निर्णय म गर्दैछु। सबै कुराको निर्धारण तिमीलाई मात्र गर्ने अधिकार पनि त छैन । मेरो जिन्दगीमा आउने निर्णय तिमीले गर्यौ । तिम्रो जिन्दगीबाट जाने निर्णय अब म गर्दैछु।

साभार : Sagar Pratap JBR -Gurkha

 

 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update