Kath khabar
साउदी अरबमा एकैचोटी ८१ जनालाई मृत्युदण्ड

रियाद, फागुन २९। साउदी अरेबियाले हत्या र आतंकवादमा दोषी पाइएकामाथि कडा कारबाही गरेको छ। आतङ्ककारी अभियोगलगायत विभिन्न अपराधमा दोषी ठहर भएका ८१ जनालाई शनिबार सामूहिक मृत्युदण्डको सजाय सुनाएको हो। विश्वमा यति ठूलो संख्यामा मृत्युदण्डको सजाय एकैपटक सुनाइएको यो पहिलो घटना हो ।

यसअघि सन् १९८० को जनवरीमा मक्काको ठूलो मस्जिदसँग सम्बन्धित बन्धक मुद्दामा दोषी ठहरिएका ६३ चरमपन्थीलाई मृत्युदण्ड दिइएको थियो। सरकारले मृत्युदण्डको सजाय दिन शनिबार किन रोजेको हो भन्ने अहिले नै स्पष्ट भएको छैन । विश्वको सम्पूर्ण ध्यान युक्रेन र रुस युद्धमा केन्द्रित भएको बेला यो घटनाक्रम भएको हो ।

सरकार नियन्त्रित ‘साउदी प्रेस एजेन्सी’ले शनिबार दिएको मृत्युदण्डको बारेमा जानकारी दिएको हो। एजेन्सीले मृत्युदण्डको सजाय सुनाइएकाहरूमा निर्दोष पुरुष, महिला र बालबालिकाको हत्यालगायत विभिन्न अपराधमा दोषी ठहर भएकाहरू पनि समावेश भएको बताएको छ। सरकारले मृत्युदण्डको सजाय पाएका मध्ये केही अलकायदा, इस्लामिक स्टेट समूहका सदस्य र यमनका हुथी विद्रोहीका समर्थक रहेको बताएको छ।

साउदी नेतृत्वको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई पुनः सत्तामा ल्याउने प्रयासमा सन् २०१५ देखि छिमेकी यमनमा इरान समर्थित हुथी विद्रोहीसँग लडिरहेको छ।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update