काठमाडौं, फागुन ३० । ग्रीन भेन्चर्स लिमिटेडले ३१ करोड २५ लाख रुपैयाँको साधारण शेयर (आईपिओ) को बिक्री खुल्ला गर्ने भएको छ । यही चैत्र आठ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ३१ लाख २५ हजार कित्ता साधारण शेयरको बिक्री खुल्ला गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
बिक्री प्रर्वन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको कम्पनीको शेयर बिक्री कार्य छिटोमा चैत्र ११ गते र ढिलोमा चैत्र २२ गते बन्द हुने छ । कुल शेयर मध्येमा तीन प्रतिशत अर्थात ९३ हजार सात सय ५० कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात एक लाख ५६ हजार दुई सय ५० कित्ता शेयर सामुहिक लगनाी कोषको लागि र बाँकी २८ लाख ७५ हजार कित्ता शेयर भने सर्वसाधारणको लागि छुट्याईएको छ । खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको शेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।