Kath Khabar
ब्रोकर कम्पनीको डाटा सेन्टरमा समस्या आउँदा नेप्से दिनभर अवरुद्ध

काठमाडौं, फागुन ३० । ब्रोकर कम्पनीको डाटा सेन्टरमा समस्या आउँदा आज सोमबार नेप्से दिनभर नै अवरुद्ध भएको छ । १२ः५३ मा रोकिएको नेप्से अन्तिम समयसम्म पनि खुल्न सकेन । त्यसपछि पनि नेप्सेले समस्या समाधानको लागि पहल भईरहेको र समस्या समाधान भएपछि कारोबार समय थप गरेर भएपनि कारोबार खुल्ला गर्ने भन्दै लगानीकर्ताहरुलाई आसै आसमा राखेको थियो । तर ४ः२५ बजे भन्ने नेप्सेले समस्याको समाधान नभएको भन्दै सूचना जारी गरी आजको लागि कारोबार बन्दा गरिएको जानकारी दिएको थियो ।

जसअनुसार नेप्से आज शुन्य दशमलव १५ अंकले बढेर २६ सय ६८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव शून्य पाँच अंकले घटेर पाँच सय नौं दशमलव ८५ अंकमा सीमित भएको छ । दुई सय २० वटा कम्पनीहरुको १८ हजार पाँच सय ९७ पटकको कारोबारमा २३ लाख ४९ हजार १० कित्ता शेयर किनबेच हुँदा आज एक अर्ब ३४ करोड २२ लाख ३२ हजार आठ सय ३९ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, अन्य र लघुवित्त समुहको सूचक पनि बढेका छन् भने जलविद्युत, फाइनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष र लगानी समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मजिङ नेपाल लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने सानिमा लार्ज क्याप फन्ड, युनाइटेड इदी मर्दी हाइड्रो पावर कम्पनी साल्ट ट्रेडिङ कम्पनी आदिको शेयर मूल्य भने घटेका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, अपी पावर लिमिटेड आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update