Kath Khabar
नेपाली श्रमिकको भर्ना निःशुल्क तथा ‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत

काठमाडौं, चैत्र २। नेपाल-युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो । बैठकमा युएईले नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

युएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुनःएकीकरण योजनामा नेपाल सरकारको प्रस्तावअनुसार सहयोग गर्ने प्रतिबद्धता पनि युएईले जनाएको छ । युएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णतः निःशुल्क गर्ने गरी ‘पाइलट प्रोजेक्ट’ अघि बढाउन पनि युएई सहमत भएको मन्त्रालयले जनाएको छ । पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पूरा गरेर पुनः श्रम स्वीकृति दिने सरकारको निर्णयबारे युएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो ।

बैठकमा वैदेशिक रोजगारीका क्रममा युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल भएको थियो । रोजगारीको प्रलोभनमा परी ‘भिजिट भिसा’मा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे पनि बैठकमा छलफल भएको श्रममन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ । युएई जाने नेपाली श्रमिकलक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इञ्जीजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायत विषयमा पनि छलफल भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नुभएको थियो । नेपाली प्रतिनिधिमण्डलमा उपसचिव डा थानेश्वर भुसाल र श्रम सहचारी निर्मला थापा सहभागी हुनुहुन्थ्यो । युएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामी, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ राशा सालेह सहभागी हुनुभएको बताइएको छ  । 

‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मङ्गलबार भेटवार्ता भएको छ ।

युएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रममन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रसंशा गर्नुभएको थियो । भेटवार्ताका क्रममा उहाँहरुबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको छ ।

रोजगारीको प्रलोभन देखाई भिजिट भिसामा युएई ल्याउने व्यक्ति तथा संस्थालाई कारबाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्ने बताइएको छ । भेटमा मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । उहाँहरुबीच युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमा, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल भएको थियो । लामो समयदेखि कार्यरत घरेलु महिला श्रमिकलाई पुनः श्रम स्वीकृति खुला गर्ने नेपाल सरकारको निर्णयले युएईमा रहेका घरेलु महिला श्रमिक लाभान्वित हुने मन्त्री अवारको भनाइ थियो ।

भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल हुनुहुन्थ्यो । युएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामीलगायत सहभागी हुनुहुन्थ्यो ।

(रासस)

 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update