काठमाडौं, चैत २। विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो ।
यो मेलालाई आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा आयोजना गरिएको सोमबार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो। मेलाको मुख्य प्रायोजककोरुपमा नबिल बैंक लिमिडेट र कृषि विकास बैंक रहेका छन् । सहयोगी संस्थाहरुमा बैंकर्स एसोसिएसन, शिखर इन्सुरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल रहेका छन् । मेलाको रिसर्च पार्टनरको रुपमाथ्री एस फाउन्डेशन रहेको छ ।
५औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०७८
सोही मितिमा र सोही स्थानमा सलोम ५ औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ पनि आयोजना गरिएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले सो प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनी मै कृषि कर्जा मेलाको पनि आयोजना गरिएको र यो मेलाको थप आकर्षण हुने संघका अध्यक्ष खोजराज कटुवालले बताउनुभयो । कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषि कर्जा मेलाको पनि आयोजना गरिएको उहाँले बताउनुभयो । ‘कृषक र कृषिसँग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै समस्याको समाधानहोस् भन्ने उद्देश्यले यो मेला आयोजना गरिएको हो’ कटुवालले भन्नुभयो ।
कृषिकर्जा मेलाको उद्देश्य
कृषि कर्जा विगत तीन वर्षमा करिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्याङ्क छ । धितोको अनिवार्यता, झण्झटिलो प्रकृया, उच्च दरको ब्याज र सेवाशुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन् । यो अवस्थामा आयोजना हुने कृषि कर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको मेला संयोजक सुशमा शर्माले बताउनुभयो । मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषिकर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने शर्माको भनाई छ । यसैगरी बैंकहरुलाई कृषि कर्जा व्यवसाय विस्तारमार्फत बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नीति निर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषकहरुको उपस्थितिमा कृषि कर्जाको राष्ट्रिय संवाद एवम् कार्यशाला सञ्चालन गरी आगामी दिनमा थप कृषि कर्जामैत्री नीति निर्माणमा सहयोग पुर्याउने र कृषक, बैंक, सेवा प्रदायक र नीति निर्माताबिच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्य रहेको उहाँको भनाई छ ।
कृषिकर्जा वास्तविक कृषक सम्म पुग्नुपर्छ : शर्मा
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शर्माले कृषि कर्जाको कन्सेप्ट राम्रो लागेकोले नै सहयोगी संस्थाकोरुपमा आफूहरु रहनतयार भएको बताउनुभयो । यसले वास्तविक निडी वा कृषकसम्म वित्तीय सूचना पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । कृषि क्षेत्रमा बैंकहरुले ठूलो लगानी भइरहे पनि उपलब्धि न्यून भएको उहाँको भनाई छ । कृषकले उत्पादन त गरेका छन् तर ढुवानी र बजारिकरणसम्मका भ्यालु चेनमा बैंकले ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
कृषिको उत्पादन र बजारिकणको प्रवद्र्धन गर्ने राष्ट्र बैंक र वित्तीय संस्थाहरुको पनि नीति रहेको उनले बताउनुभयो । धेरै जसो सहुलियत कर्जा कृषि क्षेत्रमै गइरहेको बताउँदै उहाँले वास्तविक कृषकसम्म पुग्न नसकेको बताउनुभयो । कृषि क्षेत्रलाई थप प्रवद्र्धन गर्न बैंक र एसोसिएसन तयार रहेको उहाँले बताउनुभयो । बैंकले कृषिमा लगानी बढाउन सके वैदेशिक रोजगारीमा युवा जाने क्रम पनि रोकिने उहाँको भनाई थियो ।
नेपाली युवा होइन कृषि उत्पादन खाडी पठाउने दिन आउनु पर्छ : शाह
कृषि प्रधान देश तथा मेरो बुबाआमा कृषक भन्न हामी लजाउँछौं तर कृषि र कृषकमा सम्पूर्ण नेपालीले गर्व गर्ने दिन आउनु पर्ने नबिल बैंकका सिइओ अनिल केशरी शाहले बताउनुभयो ।
यसअघि बैंकहरु घर, जग्गा र मोटर कर्जामै रमाइरहे पनि हाल कृषि क्षेत्रमा लगानी बढाइरहेको उहाँले बताउनुभयो । नेपालको माटो नै उर्वर रहेको भन्दै उत्पादन हुनलाई मेहनत नै नचाहिने उहाँले बताउनुभयो । यस्तो उर्वर माटोलाई पूर्ण सदुपयोग गर्नुपर्ने उहाँको भनाई थियो । कृषि वस्तुको उत्पादन, भण्डारण र बिक्री वितरणमा बैंकहरुले लगानी बढाउनु पर्ने र कृषि वस्तुको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । हजारौं युवाहरु जहाज चढेर विदेश जाँदा जहाजको कार्गो खाली हुने बताउँदै उहाँले त्यसमा नेपालको कृषि उत्पादन भरेर खाडी मुलुक पठाउनु पर्ने बताउनुभयो ।
विदेश गएर कागज ल्याउने होइन सीप ल्याउनेले अब देश परिवर्तन गर्न सक्ने बताउँदै उर्जाशील युवाहरुलाई नबिल बैंक लगानीगर्न तयार रहेको उहाँले बताउनुभयो । यो मेलाले कृषक र उद्यमीहरुलाई सहज बनाउने उनले अपेक्षा गर्नुभयो । मेलामा नयाँ सोच, सीप, ज्ञान, जाँगर भएका व्यक्तिहरुलाई स्वागत गर्न आफू आतुर भएको पनि उहाँले बताउनुभयो ।
कृषि उत्पादन बढाउन बैंकले लगानी बढाउनु पर्छ : थापा
नेपालका बैंकहरुले हाल करिब ३ खर्ब जतिमात्रै कृषि क्षेत्रमा लगानी गरिरहेको कृषि विकास बैंकका उपकार्यकारी निर्देशक बाबुकाजी थापाले बताउनुभयो । नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर भएको भन्दै थापाले कृषिको जिडिपीमा योगदान २५.८ प्रतिशत रहेको उल्लेख गर्नुभयो । नेपालको उब्जा उजमिनको २१ प्रतिशत मात्रै उपयोग भइरहेको बताउँदै थापाले उत्पादन क्षेत्र बढाउनु पर्नेमा जोड दिनुभयो । ब्याज, अनुदानमा मात्रै १३ अर्ब राज्यको खर्च भए पनि उपलब्धि कमजोर भएको उहाँको भनाई थियो । जसकाकारण चामल, दाल, चिनी, फलफुल, तरकारी लगायतका वस्तु ठूलो मात्रामा आयात भइरहेको उनले दृष्टान्त प्रस्तुत गर्नुभयो ।
कृषि वस्तुमा हुने आयात घटाउन नेपालमै उत्पादन बढाउनु पर्ने थापाले बताउनुभयो । त्यसैले बैंकहरुले कृषि कर्जा प्रवाह बढाउनु पर्ने उहाँँको भनाई छ । यसका लागि कृषि विकास बैंक तयार रहेको पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषक र बैंकलाई जोड्ने भएकोले नै यो मेलाको बैंकले मुख्य प्रायोजन गरेको पनि उहाँले सुनाउनुभयो । मेलाबाट कृषक र कृषि क्षेत्रका धेरै समस्या समाधान हुने पनि उहाँले अपेक्षा गर्नुभयो ।
बौद्धिक सम्पत्तिलाई पनि बैंकले धितोको रुपमा स्वीकार गर्नुपर्छ : कटुवाल
धितोको अनिवार्यता र झन्झटिलो प्रकृयाले कृषकहरुले कृषिकर्जा लिन नसकेको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले बताउनुभयो । सीप, क्षमता र योजना हुँदा पनि धितोकै कारण काम गर्न नसकि खुम्चिनु परेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘धितो भएकालाई मात्रै ऋण दिँदा सीप भएका मानिस पछि परिरहेका छन् ।’ विदेशमा सिकेको सीपलाई नेपालमा प्रयोग गर्दा देशको नै विकास हुने उल्लेख गर्दै उहाँले यसरी विदेशबाट फर्किएकालाई बैंकले थप सपोर्ट गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सीप र ज्ञान लिएर विदेशबाट फर्किएका युवाहरु पछि परिरहेका छन् ।’ आफ्नै उदाहरण दिँदै उनले भने, ‘नेदरलैण्डको मान्छेले मलाई पत्याएर विनाधितो ऋण दिएको छ तर नेपालकै बैंकले पत्याउँदैन ।’ त्यसैले मानिसको सीप, ज्ञान, योजना, शैक्षिक तथा सरकारी कागजात धितोको रुपमा राखेर पनि बैंकहरुले कर्जा उपलब्ध गराउनु पर्ने उहाँले बताउनुभयो । ब्याज वा साँवा नतिर्ने वा लगत गर्नेलाई सरकारी तथा वित्तिय सेवाबाट बञ्चित गर्न सकिने पनि उहाँले सुझाव दिनुभयो ।
बैंकले अब कृषकलाई पनि पत्याउनु पर्छ : अधिकारी
मेलाको मुख्य प्रायोजक सलोम एग्रिकल्चर प्रा.लि.का निर्देशक कृष्ण अधिकारीले बैंक र वित्तिय संस्थाकै सहयोगमा आफू कृषि उद्यमी बन्न सफल भएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले इजरायलमा सिकेको सीप र लिएको ज्ञानलाई नेपालमा सदुपयोग गरिरहेको सुनाउनुभयो । बैंकले आफूलाई नपत्याएको भए अहिले उद्यमी र व्यवसायी बन्न नसक्ने बताउँदै सफल व्यवसायीहरुलाई बैंककै सहारा रहेको उल्लेख गर्नुभयो । बैंकले ठूला उद्यमी र व्यवसायीलाई पत्याए पनि साना र ठुला कृषकहरुलाई नपत्याएको अवस्था रहेकोले अब त्यता ध्यान दिनु पर्ने उहाँको भनाई थियो ।