Kath khabar
घ्यु तथा तेलको मूल्यले महंगो बन्दै भान्सा, पहाडमा सबैभन्दा बढि मूल्य बृद्धि

काठमाडौं, जेठ २ । दैनिक भान्सामा प्रयोग हुने घ्यु तथा तेलको भाउ अचाक्ली बढेको नेपाल राष्ट्र बैठकको अध्ययनमा देखिएको छ । नेपाल राष्ट्र बैंकले देशको वित्तीय स्थिती सम्बन्धि ८ महिनाको प्रतिवेदन सार्वजनिक गर्दै घ्यु तथा तेलको भाउ बढेको जनाएको हो ।

यसले नेपालीहरुको भान्सा महंगो बन्दै गएको देखिन्छ । गत वर्षको चैतको तुलनामा यो वर्षको सोहि अवधिमा ३.१० प्रतिशतले महंगी बढेको देखिएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ ।

बिशेष गरी २०७६ चैतको तुलनामा २०७७ चैतमा घ्यू तथा तेल, मासु तथा माछा, २१.३८ प्रतिशत, सुर्तिजन्य पदार्थको १२.६१ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थ १०.१८ प्रतिशत भाउ बढेको देखिएको छ ।

त्यसैगरि चैत महिनासम्ममा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत महंगी बढेको देखिएको छ । जबकी २०७६ चैतमा यी क्षेत्रहरुमा क्रमशः ७.१९ प्रतिशत, ७.०४ प्रतिशत, ५.८४ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७७ प्रतिशत रहेको थियो ।

चैत महिनामा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ । त्यस्तै चैत महिनामा नै निर्माण सामग्रीको थोक मूल्यवृद्धि ५.९६ प्रतिशत रहेको छ ।

यता २०७७ चैतमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क मात्रै १.८९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो ।

 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update