Kath khabar
स्वयम्भुको उत्तरमा अवस्थित शान्तिपुर के हो र के छ यसको महत्व ?

 काठमाडौं, चैत्र ४। स्वयम्भू महाचैत्यदेखि स्तुपाको उत्तरमा अवस्थित रहेको शान्तिपुर मन्दिर काठमाडौं उपत्यकाको एक महत्वपूर्ण नेवारी बौद्ध स्थल हो। शान्तिपुरमा बुद्धाचार्य पुजारी र मन्दिरका थकालीहरू मात्र प्रवेश गर्न पाउँछन्। यो मन्दिरले १६५८ देखिको शिलालेख, राजा प्रताप मल्लले खडेरीको समयमा सर्प देवताहरूलाई शान्त पार्न र वर्षा ल्याउन मन्दिरमा प्रवेश गरेको सम्झना गर्दछ।

यो मन्दिरमा दुईवटा क्षेत्रहरू छन्, (भित्री गुप्त कक्ष) जहाँ गूढ देवता चक्रसंवरको पूजा गरिन्छ, (भेस्टिबुल) जहाँ बौद्ध ग्रन्थ स्वयम्भू पुराणको विस्तृत भित्ति चित्र चित्रण गरिएको छ। प्राचिनकालदेखि स्वयम्भुमा विद्यमान रहेको शान्तिपुर मन्दिर एउटा पवित्र तथा अदभुत मन्दिर हो ।

काश्यप तथागत (सातौँ बुद्ध) प्रतिको श्रद्धा र प्रेरणाबाट प्रभावित भएर श्री स्वयम्भु दर्शन गर्नको लागि गौड देशका राजा प्रचण्ड देव आफ्नो सबै राजकाज छोडेर, श्री स्वयम्भु ज्योतिरूप दर्शनको निम्ति नेपालमा आउनुभयो । श्री स्वयम्भु ज्योतिरूपको दर्शन र पुजा गरिसकेपछि उहाँको भेट मञ्जुश्रीको चेला गुणाकर भिक्षुसँग भयो र उहाँको चेला बन्नुभयो । त्यसपछि उहाँकै आश्रममा आफ्नो चूडाकर्म गरेर बस्नुभयो । गुणाकर भिक्षुले उहाँलाई सबै आवश्यक शिक्षा दिक्षा दिएर उहाँको नाम प्रचण्ड देवबाट, ‘शान्तश्री’ नामाकरण गर्नुभयो ।

श्री स्वयम्भु अनुपम, अदभूत ज्योतिरूप कमलको फूल माथिबाट प्रादुर्भाव भएको पञ्च रश्मी देखेर शान्तश्री भिक्षुले आफ्नो ध्यान दृष्टिबाट चिन्तन मनन् गर्दै, 'कालान्तरमा  कलियुग लागेपछि मनुष्यहरूमा पाप कर्म गर्ने, चोरी गर्ने, ठग्ने जस्ता नराम्रा भावहरु बढ्दै जानेछ । यस्तो अवस्थाको सिर्जना भएपछि, धर्मप्रति आस्था पनि कम हुदैं जानेछ । बेलाबेलामा बुद्धको मुर्तिहरु, विभिन्न सामग्री र बुद्ध धर्मसँग सम्बन्धित वस्तुहरूको समेत चोरी हुनेछ' भन्नुभएको थियो ।

यस्तो अवस्थामा यो कमलको फूलबाट प्रादुर्भाव भएको पञ्च रश्मिको रक्षा कसैले पनि गर्न सक्दैन भनेर उहाँले बुझ्नु भयो । तसर्थ, उहाँले यस्तो अदभूत कुनै लोक मै नभएको ज्योतिरुपको रक्षा गर्नको निम्ति श्रीस्वयम्भु ज्योतिरूप, पञ्च रश्मिमाथि अहिले हामीले देख्ने श्री स्वयम्भु महाचैत्य निर्माण गरेर छोपी दिनुभयो। त्यस पछि स्वयम्भु महाचैत्यको प्रकृतिको पञ्चमहाभूत (जल, तेज, पृथ्वी, वायु, आकाश) को कोपबाट रक्षा गर्नको निम्ति (शान्तिपुर, वसुपुर, नागपुर, वायुपुर, एवं अग्निपुरको स्थापना गर्नुभयो । यस्तो व्यवस्था गरेर शान्तिकर आचार्य नेपाल मण्डलको भविष्यवाणी गरेर आफूले बनाएको शान्तिपुर गुफाभित्र  प्रवेश गरेर सदाको लागि सिद्ध हुनुभयो  ।

अनि २०० शताब्दीतिर आचार्य नागार्जुन, शैव मार्गी त्याग गरेर बुद्ध मार्गी अपनाउनु भएका वज्रयान धर्ममा एकदमै प्रसिद्ध नाम कमाउनु भएका श्री स्वयम्भु महाचैत्य दर्शनको निम्ति नेपाल मण्डल आउनुभयो । धर्मधातु महाचैत्य देखेर उहाँको मन एकदम प्रसन्न भयो । तसर्थ यही महाचैत्यको सेवा गर्नको निम्ति उहाँ आफै द्योपाः लाः अर्थात (देवताको रेखदेख गर्ने) बनेर कैयौं वर्ष बिताउनु भयो । यहि समय आचार्य नागार्जुन शान्तिपुरभित्र प्रवेश गर्नु भएको पनि एउटा कुरा छ। उहाँको भनाइ अनुसार शान्तिपुर गुफाभित्र, स्वयम्भुबाट प्रादुर्भाव भएको ज्योति रश्मि दर्शन गर्ने बाटो, नाग भुवनतिर जाने बाटो, असंख्य भयङ्कर, डरलाग्दो, भूत प्रेत, यक्ष गणहरु बास बस्ने बाटो सहित तीनवटा बाटो रहेछ भन्ने पुष्टि हुन्छ ।

यो सबै नेपालमण्डलका नेवा आदिवासीहरुलाई थाहा भएको कुरा हो कि 'जामन गुवाजु' तान्त्रिक विद्यामा अत्ति नै निपुण, तान्त्रिक गुरुहरुमा पनि सबैभन्दा कडा र ज्ञानी हुनुहुन्थ्यो । उहाँको घर भल्लनी (वर्मु टोल) बाहिर एउटा इनार ज्यापू तुन्छी छ, जुन आजसम्म त्यस ठाउँमा रहेको छ। उहाँ हरेक दिन त्यस ज्यापू तुन्छीभित्र प्रवेश गरेर त्यहाँभित्र बास गर्ने विभिन्न, भयङ्कर भूत प्रेत, यक्षहरुलाई, पुजा आराधना गर्दै उहाँहरुले भनेको कुरा खुवाएर श्री स्वयम्भुमास्थित शान्तिपुरबाट बाहिर निस्किने गर्नुहुन्थ्यो ।

भनिन्छ यस शान्तिपुरमा ७ वोटा ढोकाहरु छन् रे । यी सातै वटा ढोका खोलेर प्रवेश गर्न जामन गुवाजु बाहेक अरु कसैले पनि गर्न सकेको छैन। एक पटक नेपालमा पानी नपरेर खडेरी लाग्दा राजा प्रताप मल्ल तिन वटा ढोका खोलेर शान्तिपुरभित्र प्रवेश गर्नुभयो । उहाँले कालो नागको रगतले लेखिएको किताब बाहिर ल्याएर घाममा देखाउने बित्तिकै पानी परेको थियो । यो घटना नेपाल मण्डलका धेरै जस्तो आदिवासीहरु सबैले सुन्दै आएको कुरा हो । नेवा राज्यकालको अन्तपछि प्रताप मल्ल मात्र यस्ता राजा हुनुहुन्थ्यो जसले नेवारहरुको धर्म, आस्था र विद्यालाई एकदम मन पराउनु हुन्थ्यो । यस कारण उहाँले  पनि तान्त्रिक विद्या सिक्नु भएको थियो ।

त्यसैले यो शान्तिपुर अनि स्वयम्भु चैत्य भनेको एकदमै अदभूत, अलौकिक पवित्र स्थल हो । हामी बौद्ध धर्म तथा नेवारहरुको लागि मात्र नभएर पुरै नेपालको एउटा शान हो । यो यतिकै बनेको चिज हैन । सारा लोक मै नभएको चिज यहाँ स्वयम्भुमा छ । यो श्री स्वयम्भु ज्योतिरूप र चैत्यको दर्शन गर्नको निम्ति सत्य युगदेखि हरेक तथागत बुद्धहरु साथसाथै सबै देवी देवता, ब्रह्म, विष्णु, महेश्वर अनि संसारका विभिन्न कुना कुनाबाट ज्ञानी, आचार्यहरु हाम्रो देशमा प्रवेश गर्दै आउनु भएको छ । तर अफसोच हामी आफैले यस्तो अदभूत र सुन्दर कुराको महत्व बुझ्न नसकेर आज यस पवित्र स्थल झन् झन् नराम्रो अवस्थामा परिणत हुदैंछ । श्री शान्तश्री भिक्षुले भविष्यवाणी गर्नु भएको कुरा मिल्न गएको पनि देखिन्छ।

शान्तिपुर मन्दिरको भित्ति चित्रहरू

 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update