काठमाडौं, चैत ८। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको १८औँ संस्करणमा खड्का र भण्डार्री ‘प्लेयर अफ दी डिकेड’ (दशकको उत्कृष्ट खेलाडी) अवार्डबाट सम्मानित हुनुभएको हो।
गत वर्ष कोरोना महामारीका कारण राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता नभएकाले उत्कृष्ट पुरुष, महिला र प्रशिक्षक दशकको छनोट गरिएको आयोजक मञ्चले जनाएको छ । खड्काले पछिल्लो एक दशकमा आफ्नो कप्तानीमा नेपाली क्रिकेटलाई निकै उचाइमा पुर्याउनुभएको थियो । उहाँकै कप्तानीमा नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप क्रिकेट खेलेको थियो । त्यस्तै सन् २०१८ मा खड्काले नेपाललाई ऐतिहासिक एकदिवसीय मान्यता दिलाउनुभएके थियो । खड्काले गत वर्ष मात्र नेपाली टोलीबाट सन्यास लिनुभएको हो ।
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड भण्डारी दशककै उत्कृष्ट महिला खेलाडी घोषित हुनुभयो । सन् २०१४ देखि राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएकी उहाँले घरेलु फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएको छ । पच्चीस वर्षीया भण्डारीले यसअघि सन् २०१९ को स्पोर्ट्स अवार्डमा उत्कृष्ट महिला खेलाडी जित्नुभएको थियो । राष्ट्रिय टोलीका लागि ३८ गोल गर्दै सर्वाधिक गोलकर्ताको नाम राख्नुभएको उहाँ सम्मिलित नेपाली टोली दुईपटक साफ च्याम्पियनशिपमा उपविजेता बनेको थियो । राष्ट्रिय फुटबल टोलीले १२औँ र १३औँ सागमा रजत पदक प्राप्त गरेको थियो ।
त्यस्तै नेपाल टेबलटेनिसकी एलिना महर्जनले पिपुल्स च्वाइस विधा जित्नुभएको छ । उहाँले क्रिकेटका कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै भोटमार्फत उक्त अवार्ड जित्नुभएको हो । एलिनाले ४७।८३३ मत प्राप्त गर्नुभयो। उहाँले सागमा लगातार दुई पटक ९१२औँ र १३औँ साग० को महिला टिम इभेन्टस्मा कास्य पदक प्राप्त गर्नुभएको थियो । ।
नेपाली राष्ट्रिय फुटबल टोलीले पल्सर स्पोर्ट्स अवार्ड २०७७ मा वर्षको उत्कृष्ट टोलीको अवार्ड जित्यो । यसैगरी डा अजय राणा स्पेसल अवार्ड अन सिन हिरोबाट सम्मानित हुनुभयो। राणा आफ्नो समयका हक्की र फुटबल खेलका अब्बल खेलाडी हुनुहुन्थ्यो। सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना हुँदा सबै खेलाडीको स्वास्थ्य व्यवस्थाको जिम्मेवारी राणाले नै निर्वाह गर्नुभएको थियो ।
धाविका पुष्पा भण्डारीले ‘पफर्मर अफ दी इयर’ अवार्ड हात पार्नुभयो। गत वर्ष पुस २६ गते बङ्गलादेशको ढाकामा सम्पन्न बङ्गबन्धु शेख मुजिव ढाका म्याराथनमा भण्डारीले स्वर्ण पदक साथै १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत म्याराथनमा रजत पदक प्राप्त जित्नुभएको थियो । यस्तै धनगढीमा २०६८ सालमा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुदमा उहाँले म्याराथनतर्फ रजत पदक प्राप्त गर्नुभएको थियो । विसं २०६९ सालमा लुम्बिनी च्याम्पियनशिप म्याराथनमा स्वर्ण जितेपछि भण्डारी एपिएफ क्लबमा आबद्ध हुनुभएको थियो।
त्यसैगरी लाइफ टाइम अचिभमेन्ट अवार्डबाट स्व शरद्चन्द्र शाहलाई मरणोपरान्त सम्मान गरियो भने पारा एथलिट अफ दी इयरको उपाधि सरिता थुलुङलाई प्रदान गरियो । उत्कृष्ट प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमाटाले प्राप्त गर्नुभयो भने एसियाली खेलकुद पत्रकार अवार्ड सताम अल सेहलीललाई प्रदान गरियो । दशक उत्कृष्ट प्रशिक्षक, पुरुष, महिला खेलाडी र पिपुल च्वाइसका विजेताले बजाब पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे ।