काठमाडौं, चैत्र १०। मानव सभ्यता र संगीतको अद्वितीय सम्बन्ध परापूर्वकालदेखि नै रहँदै आएको छ। हाम्रो संस्कार र संस्कृतिमा पनि सङ्गीतको महत्व अपरिहार्य नै छ ।बिहानीको शुभारम्भ शंख ध्वनीबाट होस् या विवाहमा पञ्चेबाजा। हामी नेपालीहरूको संगीतसँगको सम्बन्ध निकै प्रगाढ छ, जन्मदेखि मरणसम्म रहेको सर्वविदित नै छ ।
हुन त हाम्रो इतिहासलाई केलाएर हेर्ने हो भने गन्धर्व जातीहरूको पुर्ख्यौलीले नै हाम्रो संगीतलाई सम्बद्र्धन गर्दै आईरहेका कैयन उदाहरण मध्ये गाउँघरमा रामायण महाभारतका किस्साहरु, राज्यको सूचना सम्प्रेषण, हुन् या सुख दुखको समाचार संगीत मार्फत नै आदान प्रदान गर्दथे। काठमाडौंभित्र नेवार समुदायमा गुठीहरूका जात्राहरुको रौनकता त तपाई हामीले अनुभूति गर्दै आइरहेका नै छौं ।
एक तथ्यांक अनुसार नेपालमा १२६ जात जातीका अल्पसंख्यक र बहुसंख्यक जातीमध्ये ८० जात जातिका सम्प्रदायले आफ्नो कला, संस्कृति सम्वर्द्धन गरिरहेको देखाएको छ र यो पनि संरक्षणको अभावमा लोप हुने खतरा रहेको छ । जसका कारण अनेक हुन सक्छन् । संगीत धेरैको शौख हो, केही दशक यता काठमाडौंमा तपाई हामीले ज्याज्, ब्लुज, रक, साइलेन्स, इडिएम फेस्टिभल त सुन्दै आइरहेका नै छौं।
विगतलाई फर्केर हेर्ने हो भने नेपाली संगीतकर्मीहरु भारत गई पढ्नुपर्ने बाध्यता थियो । तर अहिले समयले कोल्टे फेरिसकेको छ । हाम्रो देशमा पनि विभिन्न कला केन्द्र, विद्यालय, विश्व विद्यालय स्थापना भएलगत्तै हाम्रो संस्कार, संस्कृति र संगीतको कौतुहलता विदेशीहरुमा पनि बढेको देखिन्छ । उदाहरणका लागि Anna Star ले नेपाली दोहोरीमा रिसर्च गरी पिएचडी गर्नुभयो ।
त्यसैगरी सन् २०१७ मा काठमाडौंमा संगीत पढ्दै पढाउदै गरेका केही युवाहरु मिली नयाँ सोचका साथ हाम्रो कला, संस्कार र संस्कृतिलाई अझ सरल रुपमा सबै माझ कसरी परिष्कृत रुपमा पस्किन सकिन्छ भन्ने सोचका साथ रिजु तुलाधर (Robin N Looza, HMP, Kanta Dab Dab), सुनित कंसाकार (Mukti n Revival, Kanta Dab Dab), राजन श्रेष्ठ Phatcowlee, निरज (Night), पुष्पा पलाञ्चोके (Mi Ku), Anna Star, झुमा लिम्बु, रबिन डंगोल, एञ्जेला, अरुण गुरुङ्ग (म्यानेजर कुटुम्ब) ले शुरु गरे इकोज इन द भ्याली (Echoes in the valley)।
इकोज इन द भ्यालीले २०१७ मा लोक फोल्क, फ्युजन र ट्रेडिस्नल सङ्गीतलाई प्रष्फुटन गर्ने क्रममा २६४ देशी विदेशी कलाकर्मीहरुले काठमाडौंको भोटाहिटी देखि इन्द्रचोक सम्मका बिभिन्न फल्चा, डबलीहरुमा नेपाली तथा बिदेशी सङ्गीतकर्मीहरुलाई दर्शक माझ पुर्याएको थियो भने २०१८ मा बनेपामा इकोज इन द भ्यालीले ले निरन्तरता दिंदै थियो । त्यसपछिको यात्रा अघि बढ्नु पूर्व नै कोभिडको महामारीले सबै क्षेत्रलाई थिल्थिल्याएको हामी माझ सर्वविदितै छ।
मार्च महिनामा सम्पन्न हुने इकोज इन द भ्यालीको यो संस्करण १२ चैत्र (२४ मार्च) कीर्तिपुरमा हुने इकोज इन द भ्यालीका रिजु तुलाधरले जानकारी दिनु भएको छ। शनिबार बिहान ९:३० देखि बेलुकी ७:३० सम्म (१० घण्टा) निरन्तर रूपमा आयोजना हुने कार्यक्रम कीर्तिपुरको बाघ भैरवमा रहेको प्रजा दबु, उमा महेश्वरको डबली, लयकुको राज दबू, तःननि डबलीमा आयोजना हुनेछ। नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली लगायत बिभिन्न पाँच राष्ट्रका कलाकारहरु गरी करिब १०० जना कलाकारहरुले आ-आफ्नो प्रस्तुति प्रस्तुुत गर्नेछन्।
कार्यक्रमको प्रमुख आकर्षणमा बरिष्ट वाद्यवादक न्हूःछे बहादुर डंगोलले दुई दर्जन बाजाको अर्केस्टा (नेवा अर्केस्टा) प्रस्तुत गर्नुहुने जानकारी तुलाधरले दिनु भएको छ।
इकोज इन द भ्यालीबारे थप जानकारीको लागि www.kathkhabar.com लाई पछ्याउँदै रहनु होला।