काठमाडौं, चैत ११। काठमाडौं लगायत देशका विभिन्न शहरहरूमा नक्कली सवारी दर्ता प्रमाण (ब्लुबुक) का आधारमा सवारी साधन खरिद बिक्री भैरहेको खुल्नमा आएको छ।
काठमाडौंको सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयमा प्रदेश ३ ०२ ००१ प ०७७१ नम्बरको रोयल इनफिल्ड मोटरसाइकलका सवारीधनी बिचौलिया मार्फत कर तिर्न गएका थिए। उक्त मोटरसाइकल दिपेश अधिकारीको नाममा नामसारी गरिएको थियो। विगतमा कर तिरिएको भनी यातायात कार्यालयको छाप समेत रहेको उक्त ब्लुबुक शंका लागि छानबिन गर्दा सो नम्बरको मोटरसाइकल दर्ता नै नभएको कार्यालयका शाखा अधिकृतले बताउनुभयो।
हेर्दा सक्कली नै जस्तो देखिने र विगतमा कर तिरेको कार्यालयको छाप सहितको दस्तखत पनि रहेको उक्त ब्लुबुकको थप अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको कार्यालयका शाखा अधिकृतले बताउनुभयो।