Kath khabar
बैंक तथा फाइनान्स कम्पनीहरूलाई राष्ट्र बैंकको लगानी अफर 

काठमाडौं, चैत ११। बैंक तथा फाइनान्स कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले लगानीको प्रस्ताव गरेको छ । राष्ट्र बैंकका अनुसार तीन अर्ब ४५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव मागिएको हो । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्दती निक्षेपकोरुपमा २०७९ बैशाख चार गतेदेखि २०८० बैशाख चार गतेसम्मको लागि प्रस्ताव मागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

यसरी राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि दुई अर्ब ७६ करोड, विकास बैंकहरूको लागि ५१ करोड ७५ लाख र फाइनान्स कम्पनीहरूको लागि १७ करोड २५ लाख रुपैयाँ रुपैयाँ छुट्याइएको छ। लगानी गर्न चाहने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही चैत १५ गते साँझ पाँच बजेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ । 

लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्तहरु तोकिएका छन् ।     
 

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update