काठमाडौं, चैत १३। विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ । मान्छेको दिसामा यसअघि नै प्लास्टिक भेटिएको थियो तर रगतमा फेला पारिएको भने यो पहिलो पटक हो। नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
वैज्ञानिकहरूले २२ जनाको रगतको नमुना परीक्षण गर्दा १७ जनाको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो। अनुसन्धानका अनुसार मानिसको रगतमा माइक्रोप्लास्टिकको उपस्थितिबारे अनुसन्धान गर्ने विश्वको पहिलो अध्ययनले परीक्षण गरिएका ७७ प्रतिशतमा कण फेला पारेको छ । रगतमा पुगेको प्लास्टिकले के-कस्तो असर गर्छ भन्ने पत्ता लागिनसकेको भए पनि मानव कोषमा यसले गम्भीर क्षति पुर्याउन सक्नेबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।
मानिसले खाना खाँदा, पानी पिउँदा र सास फेर्दा पनि सुक्ष्म प्लास्टिकका कणहरू निलिरहेका हुन्छन् । मान्छेको रगतमा पानीको बोतलमा प्रयोग हुने प्लास्टिक र खानेकुरा प्याकेजिङ गर्दा प्रयोग हुने प्लास्टिक धेरै भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यो खोजसँगै प्लास्टिकजन्य पदार्थ मानव शरीरबाट विभिन्न अङ्गहरूसम्म पुग्न सक्ने प्रमाणित भएको छ ।