काठमाडौं, चैत्र १४। दुई दशकको कोरोनाको सन्त्रासपछि शनिबार १२ चैत्र २०७८ मा इकोज इन द भ्याली (Echoes In The Valley) काे पाँचौं संस्करण कीर्तिपुरमा सम्पन्न भएको छ।
परम्परागत सांस्कृतिक शहर कीर्तिपुरको बिभिन्न फल्चा, डबली, मन्दिर गरी चार बिभिन्न स्थानहरू बाघ भैरव प्रजा दबू, उमा महेश्वरको डबली, तःननि, लाएकु राज दबुमा १५० कलाकर्मीहरुको प्रस्तुति, ६ बिभिन्न राष्ट्रका संगीतकर्मीहरुको उत्साह र उमंगले ओतप्रोत भएको थियो। कार्यक्रमस्थल अलिक साँघुरो भएपनी ऐतिहासिक यो शहरमा संगीतप्रतिकाे असिम मोहमा सबै रमाइरहेका भेटिए।
काठमाडौंका न्हूःछे बहादुर डंगोल र न:शा सांस्कृतिक कला धर्म मुनिकारको संयोजनमा नेवा: अर्केष्ट्रा रहृयो। नेवाः अर्केष्ट्राकाे प्रस्तुतिले स्व. नारायण गोपाल गुरुवाचार्यकाे सपनालाई स्मरण गरायो, स्व. स्वरसम्राटकाे नेपाली संगीतमा अर्केष्ट्राकाे विकाश गर्ने ठूलो धोको रहेको बागिना पुस्तकमा पढेका छौं। स्व. स्वरसम्राटकाे त्यो सपना नेवा:अर्केष्ट्राकाे प्रस्तुतिले पूर्णता पाएको पनि अनुभूत गरायो।
त्यसैगरी नेपाली समाजमा महिलाहरुको सहभागिता कतिपय क्षेत्रमा वर्जित झैं छ। यसमा संगीत पनि अछुतो छैन, महिलाहरु संगीतमा लाग्नु हुँदैन भन्ने संकुचित अवधारणालाई चिर्दै पुष्पा पलाञ्चोकेकाे दाफा समूहमा भने बाँसुरी बाधक आशिष महर्जन र नितिक डंगोल सहित महिला समूहमा १६ बर्ष देखि ६५ बर्ष उमेरका महिलाहरुले १२औँ १७औं शताब्दीका गीतहरूको प्रस्तुति दिनु भयो।
त्यसैगरी अन्य प्रस्तुतिहरु मध्ये पश्चिम कञ्चनपुरबाट झुमा लिम्बू र दिक्र बादीकाे देउडा, पूर्वकाे इन्द्र कला राई, सुनिता केदेम, काठमाडौंका folk tunes Nepal, All Star Band, त्यसमध्ये Happy Village Orchestra काे प्रस्तुति अनौठो रह्यो कारण इंडिया, इजराइल, पोल्याण्ड र नेपालका कलाकारहरुले संगीतको भाषा हुँदैन भनी हाम्रै मौलिक लोक गीतको प्रस्तुति उदाहरणनिय रह्यो।
नेपाल, चिली, र स्पेनका See O Jooni, Sinhola Scan (कीर्तिपुर), काठमाडौंका नानसीले पुराना नेपाली गीतहरु (असारे महिनामा, सिरीमा सिरी, बितेका कुराले) गीतहरुलाई Jazz Improvisation गरी श्रोता तथा दर्शकको मन जित्न सफल रह्यो। यसैगरी Word Warrior Tharu Poet हरुले कविता वाचन गर्नु भयो।
इकोज इन द भ्यालीकाे यो संस्करणमा कुल ११ वटा प्रत्यक्ष प्रस्तुति (Live Performance), श्रव्य दृश्य, बालमैत्री उद्यान जहाँ बाल गीत, कथा तथा कविता वाचन, पौराणिक कला (नेवारी रञ्जना लिपिका) ढाँचा, कीर्तिपुरको ऐतिहासिक पौराणिक सम्पदाको भ्रमण र अन्त्यमा नेवारी भोजको साथमा समापन भयो।
इकोज इन द भ्याली एक गैर नाफामुलक सांगीतिक संस्थाले सन् २०१७ देखि नेपाली साम्प्रदायिक बाजा गाजा, संस्कृति, मूर्त र अमूर्त सम्पदालाई उजागर गर्दै रैथाने स्वदेशी तथा विदेशी कलाहरुको सांस्कृतिक आदानप्रदान, नेपाली लोक कलाको उत्थान तथा सम्बर्दन र नव पुस्ता माझ हस्तान्तरण गर्दै जगेर्ना गर्दै आइरहेको छ। सन् २०१७ मा इन्द्रचोकदेखि असन, सन् २०१८ मा बनेपापछि कोभिडले थिल्थिलिएको यो प्रशंसनीय कार्य २०२२ मा फेरि जुर्मुराएको छ।
इकोज इन द भ्यालीकाे यो संस्करणलाई शिल्पकार एण्ड कं, कीर्तिपुर महानगरपालिका, US Embassy Book Bus Kathmandu, Alliance Francaise Kathmandu, Goethe Zentrum Kathmandu, कीर्तिपुर वडा नं १,२ र १०, र ISS को साथ रहेको थियो।