Kath khabar
सवारी साधनमा जोर बिजोर लागू गर्न र २ दिन सार्वजनिक बिदा दिन निगमको आग्रह


काठमाडौं, चैत १५। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिन र सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न सरकारलाई सुझाव दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउदै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो ।

रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र भुक्तानी गर्न नसक्ने अवस्था आएको उल्लेख गर्दै हप्तामा दुई दिन सार्वजनिक बिदा दिएर तेलको खपत घटाउन सरकारसँग माग गरेको हो ।  बिदाका दिन सवारीसाधनको प्रयोग कम भई तेलको खपत घट्ने तथा अत्यावश्यकबाहेक निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली हुँदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर गइरहेको र प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा मात्रै दैनिक ३१ करोड रुपैयाँ घाटा भइरहेको बताउनुभयो ।

निगमले इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा प्रतिलिटर १५ रुपैयाँ घटाउन माग गरेको छ । यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update