
काठमाडौं, चैत १६। साधारण शेयर (आईपिओ) मा लगानी गर्नेहरूलाई नयाँ अवसर प्राप्त हुने भएको छ । बाँँकेमा केन्द्रिय कार्यालय रहेको उपकार लघुवित्त वित्तीय संस्थाले यही चैत २५ गतेबाट दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्ने भएको छ ।
संस्थाले हाल कायम रहेको जारी पुँजी छ करोड ५६ लाख २५ हजार रुपैयाँ मध्येबाट ३६ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी दुई लाख ३६ हजार दुई सय ५० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रर्वद्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको संस्थाको साधारण शेयरको बिक्री कार्य छिटोमा यही चैत्र २९ गते र ढिलोमा बैशाख नौं गते बन्द हुने छ ।
बिक्री गरिने कुल शेयर मध्येमा शून्य दशमलव पाँच प्रतिशत अर्थात तीन हजार दुई सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात ११ हजार आठ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको दुई लाख २१ हजार एक सय ५६ कित्ता शेयर सर्वसाधारणको लागि छुट्याइएको संंस्थाले जानकारी दिएको छ ।
हाल अधिकृत पुँजी आठ करोड एवं जारी पुँजी छ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी हाल चार करोड २० लाख रुपैयाँ रहेको छ । शेयरको बिक्री पश्चात भने संस्थाको चुक्ता पुँजी छ करोड ५५ लाख २५ हजार रुपैयाँ पुग्नेछ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक सय कित्तासम्मको शेयर खरिद गर्न सक्ने संस्थाले जानकारी दिएको छ ।