कोलम्बो, चैत्र १८। गम्भिर आर्थिक संकट भोगिरहेको श्रीलंकामा बिहिबारदेखि डिजेलको बिक्री वितरणमा रोक लगाइएको छ । विदेशी मुद्रा नहुँदा आयात रोकिएको र भण्डारण गरिएको डिजेल सकिएकोले आजदेखि श्रीलंकामा बिक्री बन्द एएफपिले जनाएको छ । डिजेल नहुँदा सार्वजनिक गाडी, उद्योग, कलकारखाना सञ्चालन हुन सकेका छैनन् । पेट्रोल पम्पमा कैयौं किमि गाडीको लाइन बस्नुपर्ने बाध्यता रहेको छ ।श्रीलंकाका यातायात मन्त्रीले देशमा निकै थोरै मात्र डिजेल रहेको र उक्त डिजेल अत्यावश्यक कार्यको लागि मात्र प्रयोगमा ल्याइने बताउनु भएको छ ।
श्रीलंकामा अहिले दैनिक १३ घण्टासम्म लोडसेडिङ्ग तथा पेट्रोलियम पदार्थको हाहाकार छ । हाल श्रीलंकाको सडकहरुमा सडक बत्तीहरु समेत बाल्न छोडिएको छ भने बिजुलीको अभावमा शेयरको पनि प्रभावित भएको छ। यस्तै बुधबारसम्म दैनिक १० घण्टा लोडसेडिङ्ग गर्दै आएको सरकारले आज बिहीबारबाट दैनिक १३ घण्टा पुर्याएको छ। इन्धन र स्वास्थ्य सामाग्रीको अभावको कारण कैयौं सरकारी अस्पतालले शल्यक्रिया सेवा समेत बन्द गरेको छ भने रसायन आपूर्ति गर्ने बजेट नहुँदा प्रयोगशालाको काम समेत ठप्प भएको छ ।
साधारण जनताहरु विरोधमा उत्रँदै राष्ट्रपति भवन घेराउ गर्न पुगेका थिए, उक्त समयमा राष्ट्रपति गोताबय राजपाक्ष राष्ट्रपति भवनमा भएनभएको पुष्टि नभएपनि प्रहरीले भिड थेग्न नसकेपछि दंगा प्रहरी, आर्मी तथा श्रीलंकन नेभीको सहयोगमा आक्रोशित भिडलाई नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीले भीडलाई हटाउन खोज्दा झडप भएको र केही प्रहरी लगायत दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यासको प्रयोग गर्नुपरेको थियो । स्थितिलाई सामान्य बनाउन कफ्र्यूको घोषणा गरेको हो ।
आर्थिक अभावले गर्दा श्रीलंकाका कैंयौ विद्यार्थीहरुको परिक्षा प्रश्नपत्र छाप्ने कागज आयात गर्न नसक्दा स्थगित गर्नु परेको थियो ।प्रदर्शनकारीहरुले राजपाक्ष परिवारको हालीमुहाली भएको र सरकारले अर्थतन्त्रलाई राम्ररी सम्हाल्न नसकेको भन्दै राष्ट्रपति गोतावयको राजिनामाको माग गरिरहेका छन् ।
यसअघि श्रीलंकामा भएको चुनावमा सरकारले गरेको घर कर छुट, कोरोना महामारी लगायत देशमा भईरहेका पूर्वाधारहरुको निर्माणको लागि लिइएको ऋण लगायतको कारण देश आर्थिक संकटको चपेटामा परेको मानिन्छ ।
एजेन्सी