काठमाडौं, चैत्र १८। राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेको छ । पेट्रोलियम पदार्थको भाउ बढेअनुसार बिक्रेता कमिसन नबढेको भन्दै व्यवसायीले पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेका हुन् ।
निगमले आफ्नो घाटा कम गर्न भाउ बढाएकाले तत्कालका लागि कमिसन नबढाउने निर्णय गरेको थियो । सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलि शनिवारदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले बताउनुभयो ।
ग्यास, पेट्रोल तथा ढुवानी व्यवसायीले संयुक्त रूपमा इन्धन ढुवानी भाडा बढाउनुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै झन्डै दुई हप्तादेखि आन्दोलन गरिरहेका छन् ।
आन्दोलनका कारण पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको आपुर्ति रोकिने भएको छ । साझा, नेपाली सेना र साल्ट ट्रेडिङले भने ढुवानी नियमित गरिरहेका छन् ।