काठमाडौं, चैत ३० ।
राजधानीका विभिन्न अस्पतालमा कोरोनाका बिरामीहरु बढ्न थालेको देखिएको छ । कैयन सिकिस्त बिरामीहरु समेत अस्पतालमा भर्ना हुन थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनसार १८ जना आइसियुमा भर्ना भएका सिकिस्त बिरामी छन् ।
यसरी भर्ना भएकामध्ये १४ जना निमोनिया भइसकेर अक्सिजन चाहिने अवस्थाका छन्। यसमा पनिे ६ जना सिकिस्त अवस्थामा छन् ।
यसैगरि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २२ जना कोरोनाका बिरामी भर्ना भएका छन् । भर्ना भएका सबजसो अक्सिजन चाहिने अवस्थामा रहेका छन्।
त्यस्तै वीर अस्पतालमा ५ जना कोरोना संक्रमित भर्ना भएका छन। चिकित्सकका अनुसार भर्ना हुनेमा १८ वर्षमुनिका बालबालिका पनि छन्।
पहिला वृद्ध उमेरका व्यक्ति कोरोनाबाट सिकिस्त भएर आउने गरेकोमा यसपालि युवा उमेरका पनि सिकिस्त भएर भर्ना भएको डाक्टरहरु बताउँछन् ।
संक्रमितमध्ये धेरैमा युके नयाँ भेरिएन्ट भाइरस देखिएको छ। संक्रमित भएका बच्चाहरूमा नमुना परीक्षण गर्दा १५ प्रतिशतमा युके भेरिएन्ट देखिएको छ। लक्षण नदेखिएका बालबालिकाबाट परिवारका अन्य सदस्यमा संक्रमण हुने सम्भावना भएकाले यो समूह सुटुक्क संक्रमण सार्ने समूहमा परेको छ ।