कोलम्बो, चैत्र २१। श्रीलंकामा आर्थिक संकटका कारण जारी प्रदर्शनकाबीच श्रीलंकाको केन्द्रीय मन्त्रिपरिषद्का सबै मन्त्रीहरूले राजीनामा दिएका छन् । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् ।
राजीनामा दिनेमा महिन्दा राजापाक्षका छोरा नमल राजापाक्षे पनि छन् । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा नमल राजापाक्षेले देशमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विरोध गरेका थिए । उनी केन्द्रीय खेलकुद मन्त्री थिए । तर अहिले उनले पनि राजीनामा दिएका छन् । यसबाहेक सहयोगी दलका महासचिवले पनि राजीनामा दिएका छन् ।
श्रीलङ्का एकदम खराब आर्थिक सङ्कटसँग जुधिरहेको छ। लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू आक्रोशित भएका छन् । श्रीलंकाका जनताले गम्भीर आर्थिक संकटका लागि राजपक्षे सरकारलाई जिम्मेवार ठहराइरहेका छन्।
अनियन्त्रित भइरहेको महँगी र खाद्यान्न अभावबाट क्रुद्ध भएका श्रीलंकाका जनताले बिहीबार राति राष्ट्रपति गोताबाया राजपक्षेका निवासबाहिर चर्को आन्दोलन गरे। शान्तिपूर्ण तरिकाले सुरु भएको आन्दोलन प्रहरीको हस्तक्षेपपछि हिंसात्मक बन्न पुगेको थियो।