भक्तपुर, चैत्र २१। सूर्यविनायक नगरपालिका-७ गुण्डुमा अवस्थित घ्याम्पेडाँडा सुर्यबिनायक गणेश मन्दिरबाट रानीकोट जाने बाटोमा अवस्थित रमणीय पर्यटकीय स्थल हो । नाम सुन्दै अनौठो लाग्ने घ्याम्पेडाँडा हालै अन्वेषण गरिएको सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिकोणले धेरै सम्भावना बोकेको क्षेत्र हो ।
घ्याम्पेडाँडा नाम परापुर्वकालदेखि राखिएको नाम भने होइन। स्थानियहरुका अनुसार धेरैवर्ष पहिला काभ्रेपलाञ्चोकदेखि रानीकोट, घ्याम्पेडाँडा लगायतका बासिन्दाहरु आवश्यक सामग्री खरिद गर्न यही बाटो भएर भक्तपुर बजारसम्म जाने र भारी बोकेर आवतजावत गर्दा तिर्खा मेटाउन स्थानीयवासीले यहि ठाउँमा माटोको घ्याम्पो जमीनमुनि गाडेर पानी पिउने व्यवस्था गरेकाले यो ठाउँको नाम घ्याम्पेडाँडा रहन गएको हो । धेरै पहिला यस क्षेत्र स्थानीय ब्राह्मण समुदायको कुस बिर्ताका नामबाट चर्चामा रहँदै पुरानो छाप नाम रहेको यस ठाउँलाई २०२१ सालको नापीपछि चिहान डाँडाको नामबाट चिन्न थालिएको थियो । स्थानीयवासीका अनुसार विसं २०३५ पछि यो डाँडाको नाम घ्याम्पेडाँडा रहन गएको थियो ।
बाटोको प्रयोग कम हुँदै गएपछि घ्याम्पोको अस्तित्व मेटिदै गएको स्थानीय वासिन्दाको भनाइ छ। घ्याम्पेडाँडा नामले प्रसिद्ध भएपनि घ्याम्पो नहुँदा यहाँ आउने पर्यटकले घ्याम्पो खै ? भनेर भनेर चासो राख्ने गरेपछि स्थानीयवासी तथा नगरपालिकाको सहयोगमा केहि समय अघि मात्रै पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले पाँच हजार लिटर पानी अट्ने घ्याम्पो निर्माण गरिएको छ।
नेपाल सरकारले ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक महत्वका लागि भर्खरै मान्यता दिएको यस क्षेत्रमा स्थानीय उत्पादन र स्थानीयबासीलाई पहिलो प्राथमिकतामा राखेर रोजगारीको व्यवस्था गर्ने , कला संस्कृतिको प्रर्दशन गर्ने तथा स्थानीय तामाङ, नेवारी सांस्कृतिक प्रस्तुती दिँदै विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षण गर्ने गरी संरचना निर्माण हुन लागेको छ । रोप साइक्लिङ, जिप फ्लाइङ, हाइकिङ, जङ्गल सफारी र अन्य धेरै साहसिक आकर्षणहरू पनि योजनामा समेटिएका छन्।
नौ वटा हिमश्रंखलादेखि काठमाडौं उपत्यकाका मनोरम दृश्यको अवलोकन गर्न सकिने घ्याम्पे डाँडा नगरकोट र धुलिखेलपछिको अर्को ठूलो पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ ।
यो क्षेत्रमा पर्यटन व्यवसायी उत्साहित बनेपछि अहिले जिप लाईनदेखि करोडौं लगानीमा होटलहरु समेत सञ्चालनमा आइसकेको छ ।