इन्डोनेसिया, चैत्र २२। इन्डोनेसियाको एउटा आवासीय स्कूलका शिक्षकलाई १३ जना छात्राको बलात्कार गरेको अभियोगमा अदालतले मृत्युदण्डको सजाय दिइएको छ।
सञ्चालक समेत रहेका ३६ वर्षीय हेरी विरावनले ११ देखि १६ वर्ष उमेर समूहका छात्राहरूमाथि यौन दुराचार गरेको घटना गत वर्ष सार्वजनिक भएपछि इन्डोनेसियालीहरू स्तब्ध भएका थिए। धार्मिक शिक्षक पनि रहेका विरावनले सन् २०१६ देखि छात्राहरूलाई बलात्कार गरेको र तीमध्ये आठ जनालाई गर्भवती समेत बनाएका थिए। उनीहरूबाट नौजना बच्चा पनि जन्मिएका छन्।
गत फेब्रुअरीमा ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो। तर पीडित पक्षले अभियुक्त शिक्षकलाई मृत्युदण्ड दिनुपर्ने माग अदालतसँग गरेका थिए।
स्थानीय सञ्चारमाध्यमहरूले रिपोर्टमा जनाएअनुसार विरावनले अभावग्रस्त क्षेत्रका छात्राहरूलाई आफ्नो कलेजमा छात्रवृत्ति र अरू सुविधाहरू दिएर प्रलोभनमा पारेका थिए। एक अभिभावकले आफ्नो छोरी गर्भवती भएको बताएपछि मात्रै यौन शोषणको घटना गत वर्षको मे मा बाहिर आएको थियो।