कोलम्बो, चैत्र २२। श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिनु भएको छ । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त हुनुभएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिनु भएको हो ।
सोमबार उहाँसँगै अरु तीन गरी चार मन्त्रीले सपथ ग्रहण गर्नु भएको थियो । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले उहाँहरूलाई मन्त्रीमा नियुक्त गर्नु भएको थियो । अहिलेको सांसदभन्दा बाहिरका व्यक्तिहरू सहभागी भएर स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरकार बनाउनु पर्ने माग राख्दै उहाँले राजीनामा दिनु भएको हो ।
त्यसका लागि संसद् सदस्य भएकाहरूलाई संसद् सदस्यबाट राजीनामा गराएर भएपनि जिम्मेबारी दिन सकिने उहाँको भनाई छ । तर राष्ट्रपतिले भने अहिलेकै सरकारलाई पुनर्गठन मात्रै गर्न थालेपछि आफू त्यसमा सहमत नभएर राजीनामा दिएको साब्रीले स्पष्ट पार्नुभयो । आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि गहिरिदै गएपछि तत्कालीन सबै मन्त्री र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिनु भएको थियो ।
सरकारमा प्रधानमन्त्री मात्रै रहेपछि राष्ट्रपति राजापाक्षेले सरकारमा सहभागी हुन अन्य दलका नेताहरूलाई आह्वान गर्नु भएको थियो । उहाँकै आह्वान अनुसार सङ्कट समाधान गर्ने अठोटसहित मन्त्री बनेको व्यक्तिले पनि राजीनामा दिने क्रम सुरु भएको हो ।
राष्ट्रपतिले राजीनामा नदिने तर बहुमत प्रमाणित गर्नेलाई सरकार सुम्पन तयार
राष्ट्रपति गोताबाया राजापाक्षेले मङ्गलबार पार्टीका वरिष्ठ सदस्यहरूलाई आफूले पदबाट राजीनामा नदिने तर ११३ सिटको बहुमत भएको जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको बताउनु भएको छ ।
डेली मिररका अनुसार राजपाक्षेले सोमबार राजनीतिक भेटघाट गर्नु भएको थियो। जारी जनआन्दोलनका बीच सभामुख महिन्दा यापा आबेवर्देनाको अध्यक्षतामा २२५ सदस्यीय विधानसभामा कुन दलले १ सय १३ सिटमा पूर्ण बहुमत ल्याउने भन्ने कुराको टुंगो लगाउन आज पहिलो पटक संसदको बैठक बोलाइएको छ । गत आइतबार श्रीलङ्काका क्याबिनेट मन्त्रीहरूले आर्थिक सङ्कटलाई लिएर सरकार विरुद्ध बढ्दो जनआक्रोशको बीचमा आफ्नो पदबाट सामूहिक राजीनामा दिएका थिए। राष्ट्रपति राजापाक्षेले विपक्षी दलहरूलाई मन्त्रिपरिषद्मा सामेल हुन र एकताबद्ध ई सरकार गठन गर्न आह्वान गरेका छन् ।
डेली मिरर अखबारले उल्लेख गरेअनुसार श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) र केही सरकारी सांसद्हरूले स्वतन्त्र बस्ने धम्की दिएपछि सरकारले आफ्नो दुई तिहाइ बहुमत गुमाएको छ। जे होस् एसएलपीपीले अहिले आफ्नो पक्षमा ११३ सिट जोगाउन कोशिस गरिरहेको छ ताकि यो साधारण बहुमतमा पनि सरकारमा रहन र महिन्दा राजापाक्षे प्रधानमन्त्री बन्न सक्ने देखिन्छ। सरकारले आज पनि बहुमत देखाउन नसके नयाँ प्रधानमन्त्रीको टुङ्गो लगाउन सभामुखसमक्ष प्रस्ताव राखिने र राष्ट्रपति राजापाक्षेले निर्णय गरेबमोजिम नयाँ दललाई सरकार हस्तान्तरण गरिने डेली मिरर जनाएको छ ।
सरकारले शनिबार फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप र युट्युब लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो तर प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले यसको विरोध गरेपछि आइतबार दिउँसो प्रतिबन्ध हटाइएको थियो।
(रासस/सिन्ह्वा)