सिन्धुपाल्चोक, चैत्र २२। स्वयंसेवा नेपालको आयोजनामा सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर-७ मा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । पाँचपोखरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आयोजित दुई दिने निःशुल्क दन्त शिविरमा २१७ जना पाँचपोखरीबासीहरुले सेवा लिएको स्थानीय समाजसेवी निर्मल बन्जाराले बताउनु भयो ।
दाँत तथा गिँजाको चेक जाँच तथा उपचार गरिएको सो दन्त शिविरमा थप उपचार गर्नुपर्ने र आर्थिक अवस्था कमजोर भएकालाई उपचारका लागि पहल गरिने पनि कार्यक्रमका सहयोगीले बताउनुभयो।
स्वयं सेवा नेपालको प्राविधिक सहयोग तथा पाँचपोखरी थाङपाल गाउँपालिका र पाँचपोखरी प्राथमिक अस्पतालको सहजिकरणमा शिविर सञ्चालन गरिएको थियो। स्वयं सेवा नेपालले देशका बिभिन्न भागमा नि:शुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । युवा समाजसेवी चन्द्र गुरुङले संयोजन गर्नुभएको सो शिविरको निरीक्षण गाउँपालिका अध्यक्ष टासी लामाले गर्नु भएको थियो ।