काठमाडौं, चैत २५। साँझ ढल्किँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरी र धिमे बाजाको धुनले सध्याकालीन माहोललाई उत्सवका रुपमा परिणत गरिरहेको थियो ।
पाखेरीको वरिपरि पालामा बलेका बत्तीको उज्यालोले चम्किएको पोखरीमा तस्बिर लिन स्थानीय बासिन्दा झुम्मिरहेका थिए । मानौँ त्यहाँ कुनै कुनै उत्सव भइरहेको छ । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको ३०० वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरीमध्ये उत्तरतर्फको ठूलो निगु पुखुःमा बिहीबार साँझ गरिएको उद्घाटन र त्यसपछि पोखरीमा गरिएको दीपावलीको दृश्य थियो यो ।
थिमि बोडेको कमलपोखरी र यता पोखरीको पानी आउने गरी करिब ३०० वर्ष पहिले गङ्गा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि निर्माण गराउनु भएको ‘निगु पुखुः’ले पुनर्जीवन पाएपछि मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यसको उद्घाटन गर्नुभयो । विसं २०१५ मा राजा महेन्द्र भक्तपुर आउँदा उहाँलाई स्वागत गर्न पानी निकालेपछि दुईपोखरी घाँसे मैदानमा परिणत भएको थियो । विसं २०६५ मा नगरपालिकाले रु १० लाख खर्चेर फलामे बार लगाई संरक्षणको प्रयास गरे पनि केही वर्षयता पोखरीमा मङ्सिरमा धान सुकाउने र अन्य समयमा केटाकेटी खेल्ने मैदान र अर्को पोखरी घाँस र झारले भरिएर जीर्ण बन्दै आएको थियो ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधिको जिम्मेवारी सम्हालेपछि लिएको सङ्कल्प धमाधम पूरा गर्दै आएको बताउँदै उहाँले ‘निगु पुखुः’ यसको ज्वलन्त उदाहरण भएको बताउनुभयो ।
नगरपालिकाले आव ०७५-७६ देखि पुनःनिर्माण एवं जीर्णोद्धार सुरु गरेको दुई पोखरीमध्ये दक्षिणतर्फको पोखरीको पुनःनिर्माण गरेर गत वर्ष नै उद्घाटन गरिएको थियो भने उत्तरतर्फको ठूलो पोखरीको निर्माण गरेर बिहीबार साँझ उद्घाटन गरिएको हो ।
करिब दुई करोडको लागतमा निर्माण गरिएको पोखरीको चारैतिर माः अप्पा, दाची अप्पाः इँटामा चुना र सुर्कीको प्रयोग गरी पर्खाल लगाइएको छ भने चारैतर्फ कलात्मक ढोका राखिएको छ । दक्षिणतर्फको पोखरी पाँच र उत्तरतर्फको पोखरी सात मिटर गहिरो बनाइएको छ । पोखरीमा तल कालीमाटी, बीचमा पाँगो माटो र माथि पुनः कालीमाटी गरी १५ इन्च माटो र त्यसमाथि इँटा बिछ्याएर पानी भरिएको छ ।
यो प्रविधिले पोखरीमा पानी नसुक्ने बताउँदै नगरप्रमुख श्रेष्ठले स्थानीय इनाय टोलको राजगणेशदेखि दिगु भैरव मन्दिरसम्मको आकाशे पानी सङ्कलन गरी प्रशोधन गरेपछि पोखरीमा खसाल्ने योजना रहेको बताउनुभयो । दुई पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठवटा फल्चा अर्थात् पाटी निर्माण गर्ने योजना चाहिँ बाँकी नै छ । गत वर्षको बिस्केट जात्रामा पानी भर्ने गरी दक्षिणतर्फको पोखरी र आउनै लागेकोे बिस्केट जात्रामा पानी भर्ने गरी उत्तरतर्फको पोखरी पुनःनिर्माण गरिएकोे उहाँले जानकारी दिनुभयो ।
यस नगरपालिकालाई जीवित सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्यका साथ पुरातात्विक एवं ऐतिहासिक संचरना खोजी खोजी संरक्षण एवं जीर्णोद्धारका काम गर्दै आइएको बताउँदै नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “मेरो कार्यकालमा मध्यपुरथिमिका ४५ मन्दिर, ४२ पाटी पौवा, १७ पोखरी, २७ ढुङ्गेधारा, तीन दरबार, पाँच बौद्ध विहार र सातवटा पार्क पुनःनिर्माण गरेको छु, मध्यपुरथिमि पनि कला, संस्कृति र ऐतिहासिक धरोहरको सम्पदा भएको बस्ती हो भन्ने सन्देश विश्वमा पुर्याउन सफल भएको छु ।” यहाँका सम्पदा संरक्षण गरेबापत् नेपालभरिका पालिकाहरुमध्ये उत्कृष्ट घोषित हुँदै युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले यस नगरपालिकालाई ‘एसियन टाउनस्केप अवार्ड’ बाट सम्मान गरेको थियो ।
(रासस)