कोलम्बो, चैत्र १७। यसै हप्ताको शुरुमा नयाँ वित्त मन्त्री नियुक्त पाई २४ घण्टामा राजिनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको छ ।
उहाँलाई गत सोमबार राष्ट्रपति राजपाक्षले अर्थमन्त्री नियुक्त गर्नुभएको थियो भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेश गर्नुभएको थियो । राष्ट्रपतिबाट उहाँको राजिनामा स्वीकृत भएको थिएन ।
उहाँले शुक्रबार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
अरु कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपति गोटाबाया राजपाक्षले सबारीको राजिनामा स्वीकृत गर्न नमानेपछि उहाँले वित्त मन्त्रीका रुपमा निरन्तरता दिने बताउनुभएको हो ।
सबारीले भने, “जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रुपमा रहन र आवश्यक काम गर्न तयार छु ।”
श्रीलङ्कामा आर्थिक संकट, घण्टौँ लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।