काठमाडौ चैत्र २८ — भारतको बिहारमा एउटा पूरै पुल नै चोरी भएको अनौठो घटना भएको छ । बिहारको रोहतास जिल्लाको ६० फिट लामो पुल चोरी भएको हो । रोहतास बिहार जिल्लाको नासरीगंज क्षेत्रस्थित अमियावर इलाकामा रहेको एक नहरमा बनेको फलामको पुल रातारात गायब भएको हो । ६० फिट लामो १० फिट चौडा र उक्त पुल १२ फिट अग्लो थियो । समाचार अनुसार चोरले जेसीबी मेसिन ल्याएर उक्त पुल उखेलेर त्यसको फलाम ट्रकमा हालेर लगेको हो ।
गाउँमा यतिठूलो घटना हुँदा पनि स्थानीय प्रशासनले अत्तो पत्तो पाएन । अनौठो त के भने चोरले आफू सिंचाइ विभागको कर्मचारी भएको भनि स्थानीय विभागीय कर्मचारीहरूको समेत सहयोग लिएर पुल भत्काएर लगेको हो । स्मरण रहोस् उक्त पुलबाट यसअघि पनि पटक पटक फलाम चोरी हुने गरेको थियो । तर यो पटक भने चोरले सिँगै पुल नै चोरेको छ। गाउँलेहरूले सोधीखोजी गर्दा चोरले आफूलाई सिंचाइ विभागको कर्मचारी भएको बताएको थियो ।
उक्त पुल सन् १९७२ मा निर्माण सुरु भएर १९७५ मा सम्पन्न भएको थियो । उक्त पुलको समानान्तर अर्को कंक्रिटको पुल बनेका कारण उक्त फलामको पुल प्रयोगविहीन बनेको थियो । पुल चोरी भएको घटनाका विषयमा स्थानीय प्रशासनले अनुसन्धान अगाडि बढाएको थियो ।
एजेन्सी