Kath khabar
मुलुकको वैदेशिक व्यापारमा सुधार, कुल बस्तु निर्यात ८२ प्रतिशतले बढेर एक खर्ब ४७ अर्ब नाघ्यो



            काठमाडौं, चैत २९। मुलुकको वैदेशिक व्यापारमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी पछिल्लो आठ महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात ८२ दशमलव नौं प्रतिशतले वृद्धि भई एक खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात सात दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय चार दशमलव दुई प्रतिशत र २९ दशमलव एक प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो आठ महिनामा कुल वस्तु आयात भने ३८ दशमलव छ प्रतिशतले वृद्धि भई १३ खर्ब आठ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात दुई दशमलव एक प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८ दशमलव एक प्रतिशत, ३६ दशमलव सात प्रतिशत र ७५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । चालु आवको पछिल्लो आठ महिनामा कुल वस्तु व्यापार घाटा ३४ दशमलव पाँच प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाई छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११ दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव छ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्‌र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ४७ अर्ब तीन करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब २१ अर्ब ३६ करोड बराबरको भएको राष्ट्र बैंकको भनाई छ ।  

 

 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update