काठमाडौं, वैशाख १। समपरिधानको महत्व र नेपाली गुन्यु चोली प्रयोगको अवस्था विषयक बिचार गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभागद्वारा नेपाल संस्कृति संरक्षण समाजको सहकार्यमा बैशाख एक गते नयाँ वर्षको अवसर पारेर प्रज्ञा भवन कमलादीमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा संरक्षण समाजका अध्यक्ष लक्ष्मी ओझा भद्राले नेपाली संस्कृतिमा गुन्यू चोलीको सांस्कृतिक महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । 'नेपाली संस्कृतिलाई विश्वसामु चिनाउनको लागि पनि हाम्रो सांस्कृतिक पहिरनहरुको जर्गेना गनुपर्छ, संस्कृति रहे नै देश रहन्छ,' कार्यक्रममा ओझाले भन्नुभयो । अहिले नेपाल संस्कृति र मौलिक नेपाली पहिरनमा सबैतिरबाट आक्रमण भएको भन्दै यसलाई जोगाउनको लागि आम नेपाली नागरिक सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो ।
सोही कार्यक्रममा पद्म कन्या बहुमुखी क्याम्पसका सह-प्राध्यापक (संस्कृति विभाग) लोकनाथ दुलालले नेपाल संंस्कृति संरक्षण समाज ललितपुरको आयोजनमा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको गुन्यू चोली, नेपाली राष्ट्रिय समपरिधान विषयमा आफ्नो कार्यपत्र पेस गर्नुभएको थियो । कार्यपत्रमा उहाँले गुन्यू चोलीको महत्व र यसको इतिहासको बारेमा जानकारी दिनुभएको थियो । विशेषत: सुरक्षा, श्रम र सुन्दरता यि तीन आधारभुत पक्षले मानिसलाई लुगा कपडाको प्रयोग गर्न उत्प्रेरण दिने गरेको छ, दुलालले कार्यपत्र मार्फत भन्नुभएको छ ।
नेपाली संस्कृति र सभ्यतामा बिभिन्न प्रकारका परिधानको प्रयोग प्राचीनकालदेखि नै हुँदै आएको आएको छ । यो विषयलाई त्यस ताकाको मूर्तिकला, चिनियाँ यात्रीहरूको यात्रा विवरण एवं कौटिल्यको अर्थशास्त्रमा उल्लेखित सन्दर्भहरुले पुष्टि गर्दछन् । यस्ता बिभिन्न शोषकहरू मध्ये गुन्युचोली पनि एक हो, कार्यपत्रमा भनिएको छ । 'गुन्युचोली नेपाली समाज र संस्कृतिको एउटा महत्वपूर्ण परिधान मानिन्छ, यो महिलाले प्रयोग गर्ने नेपालको महत्वपूर्ण परिधान हो', दुलालले भन्नुभयो ।
राष्ट्रिय पोशाक किन बनाउने भन्ने सन्दर्भमा दुलालले भन्नुभयो, 'गुन्युचोली नेपाली संस्कृति हो । यसलाई एउटा साधारण र सामान्य पोसाक र पहिरन मात्र मान्न पाइदैन, बनाउनु हुँदैन। नेपाली नारीहरूलाई अति विशिष्ट र सभ्य तुल्याउने आर्कषक, सुन्दर र मनमोहक वस्त्र हो । यसलाई बिशिष्ट र सांस्कृतिक परम्पराकै रुपमा विकास र बिस्तार गरिनु पर्छ,' उहाँले भन्नुभयो । राष्ट्रिय पोशाक सभ्यता र संस्कृतिको पहिचान हो । जातिय पहिचान र पहिरनले पनि राष्ट्रिय पहिचान दिलाउँछ, उहाँले भन्नुभयो । कार्यक्रममा दुलालले गुन्यु चोली के हो, किन यो आवश्यक पर्छ, यसको सांस्कृतिक महत्व आदिका बारेमा आफ्ना तर्कहरु प्रस्तुत गर्नुभएको थियो ।